बानेश्वरमा प्रचण्ड र ओलीबीच चर्काचर्की
काठमाडौं, कार्तिक ३० –
सहमतिको प्रयासका लागि नेकपा–एमाले र एमाओवादीका शीर्ष नेताहरुबीच भएको छलफलले सहमतिको संकेतभन्दा पनि दलहरु अझै टाढिने संकेत दिएको छ । आइतबार साँझ बानेश्वरमा भएको दुई पक्षीय छलफलमा एमाले अध्यक्ष ओलीले माओवादीको प्रस्ताव अस्विकार गर्दै एमाले–कांग्रेसले प्रस्तुत गरेको साझा प्रस्तावभन्दा एक इन्च तलमाथि नगर्ने बताएपछि आजको छलफल निश्कर्षबिहिन बनेको हो ।
बैठकमा ओली कडा रुपमा प्रस्तुत भएपछि एमाओवादी अध्यक्ष प्रचण्डसँग चर्काचर्की नै परेको थियो । ओलीले जसरी पनि साझा प्रस्तावलाई अघि बढाउने र संघीयताको मामिलामा प्रदेश संख्यामा केही सम्झौता नगर्ने बताए पछि बैठकमा केही बेर चर्काचर्की नै परेको थियो ।
ओलीले कुनै कुरामा सहमति नगर्ने बताएपछि प्रचण्डले आक्रोश पोख्दै तपाईंहरुले देशमा स्थायीत्व चाहनु भएको रहेनछ । विगतका सम्झौताहरुबाट भाग्न खोजिरहनुभएको छ । यसले देशलाई पुनः अर्को द्वन्द्वतिर लानेछ भनेर ओलीलाई बताएका थिए ।
बैठकमा एमाले नेताहरुले एकोहोरो रुपमा प्रस्तावलाई संवाद समितिले संविधानसभामा पठाउन माग गरेका थिए । यता, एमाओवादीले ‘संवाद समितिको अहिलेसम्मको प्रकृया र नियमावली अनुसार त्यसरी पठाउन मिल्दैन भन्ने जवाफ दिएपछि बैठक बिना निश्कर्ष टुंगिएको छ ।
यता, एमाओवादी ओलीसँग सहमतिका कुरा अब हुन नसक्ने निश्कर्षमा पुगेको छ । स्रोतका अनुसार अलि लचक मानिएका माधव नेपाल भारत प्रस्तान गरेपछि निकै हार्ड मानिएका ओलीले मोर्चा सम्हालेसम्म एमाओवादी अध्यक्ष प्रचण्ड सहमति नहुने निश्कर्षमा लगभग पुगेका छन् ।
एमाले अध्यक्ष केपी ओली, उपाध्यक्ष विद्या भण्डारी र महासचिव ईश्वर पोखरेल तथा एमाओवादीका तर्फबाट अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बैठकमा सहभागी थिए
रातोपाटीमा समाचार छ
0 comments
Write Down Your Responses