चीनको सिमाना खिच्ने ड्रोन किन नेपालमा पक्राउ पर्यो -हेर्नुहोस् ..

चूडामणि भट्टराई,
काठमाडौं : नेपाली सेनाको मुख्यालय भद्रकालीनजिक आकाशमा ड्रोन उडाई तस्बिर लिने दुई चिनियाँ पत्रकार पक्राउ परेकै भोलिपल्ट बिहीबार चिनियाँ सिमानाको तस्बिर र दृश्य कैद भएको अर्को ड्रोन सोलुखुम्बुमा समातिएको छ।

नेपाल चीन सीमा क्षेत्रवरिपरिका प्रशस्त तस्बिर र भिडियो खिच्दै स्याङ्बोचे नजिकैको पहाडमा ठक्कर खाएपछि त्यसलाई सेनाले नियन्त्रणमा लिएको हो। सामान्यभन्दा केही फरक देखिने शक्तिशाली क्यामरा, धेरै दृश्य तथा भिडियो अटाउन सक्ने मेमोरी कार्ड भएको ड्रोनमा खिचिएका भिडियो र तस्बिरहरू सैनिक ब्यारेक तथा राष्ट्रिय निकुञ्जको कार्यालयका अधिकारीहरूले हेरेका छन् ।chine_drone
निकुञ्ज कार्यालयका एक अधिकृतका अनुसार त्यसमा खुम्बु क्षेत्रको सम्पूर्ण दृश्यहरू खिचिएको पाइएको छ। मानवरहित हवाईयन्त्र (अनम्यान्ड एरियल भेइकल) ड्रोन पक्राउ गरेको पुष्टि गर्दै सगरमाथा राष्ट्रिय निकुञ्जका वार्डेन लक्ष्मण पौडेलले अन्नपूर्णसँग भने, ‘यो निकै संवेदनशील छ। यसबारे सेना र प्रहरीले थप खोजी गरिरहेका छन् ।’

कहाँबाट उडाइएको हो भन्ने नखुले पनि असोज २८ गते बिहान ७ बजेर २० मिनेट जाँदा उक्त ड्रोन उड्दै गरेको सैनिक ब्यारेकबाटै देखिएको थियो । अचानक पहाडमा ठोक्किन पुगेपछि सगरमाथा राष्ट्रिय निकुञ्जको सुरक्षामा खटिएको सैनिक टोलीले त्यसलाई नियन्त्रणमा लिएको थियो ।

कति बेलादेखि त्यो उडेको र कसले त्यस क्षेत्रमा उडाएको हो भन्ने अनुसन्धान भइसकेको छैन,’ निकुञ्जका वार्डेन पौडेलले भने, ‘यस्तो उडान गैरकानुनी हो र हामीले कसैलाई पनि यस्तो यन्त्र लिएर नआऊन् पहिला नै सूचना जारी गरेका थियौं ।’विमानस्थल र स्थलमार्गका चेक पोस्टहरूमा पनि यस्ता साधन नियन्त्रणमा लिन भनिएको उनले बताए । कताबाट आयो भन्ने जानकारी नआई उक्त ड्रोन अकस्मात् आकाशमा देखिएको पनि उनले बताए ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी चन्दवीर राईले ड्रोनलाई सेनाले नियन्त्रणमा लिएको आफूले पनि सुनेको बताए । उनले भने, ‘केका लागि उडाइएको थियो भन्नेबारे थाहा भएको छैन ।’उक्त ड्रोन कुन क्षमता र प्रकारको हो भन्ने खुल्न सकेको छैन । सामान्यभन्दा भिन्न देखिएकाले रिमोटबाट चल्ने हो वा अटोनोमस यन्त्र हो भन्ने प्राविधिक अध्ययनपछि मात्र थाहा हुने निकुञ्ज कार्यालयले जनाएको छ ।

नेपालमा ड्रोनको उडान निषेधित छ । ड्रोन उडानसम्बन्धी कार्यविधि २०७२ मा उडाउनै परेमा सञ्चार मन्त्रालय र नागरिक उड्डयन प्राधिकरणको लिखित अनुमतिमा मात्र तीन सय मिटर लम्बाइ र एक सय मिटर उचाइसम्म मात्र ड्रोन उडाउन पाइन्छ ।

यसैबीच, सिंहदरबारदेखि भद्रकालीसम्मको क्षेत्रमा ड्रोन उडाएकोमा पक्राउ परेका सीसीटीभीका दुईजना चिनियाँ पत्रकारहरूले सैनिक मुख्यालयको तस्बिर भने लिइनसकेको पाइएको प्रहरीले बताएको छ ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारका डीएसपी प्रजित केसीले अन्नपूर्णसँग भने, ‘सिंहदरबार र सैनिक मुख्यालयको फुटेज कैद गर्न नपाऊन् भन्ने उद्देश्यले सूचना पाएलगत्तै उनीहरूलाई नियन्त्रणमा लिएका हौं ।’प्रहरीले ड्रोन, त्यसमा प्रयोग हुने उपकरण, एउटा आइफोन सिक्स मोबाइल थप अनुसन्धानका लागि सञ्चार मन्त्रालयमा बुझाएको छ ।

अन्नपुर्ण पोष्टवाट

0 comments

Write Down Your Responses