प्रोफेसर तथा इन्जिनियरिङ भूगर्भविद् रञ्जनकुमार दाहाल
शनिबार गोरखाको उत्तरी क्षेत्र बारपाकलाई केन्द्रविन्दु बनाएर आएको ६.७ रेक्टर स्केलको भूकम्पका कारण लाखौं घर क्षतविक्षत भएका छन् जसका कारण लाखौं मानिस घरबारविहीन बनेका छन् । ६ हजार ६ सयभन्दा बढीको ज्यान गएको छ । यो संख्या अझै बढ्दै गएको छ । आइतबार सिन्धुपाल्चोक र दोलखाको सीमालाई केन्द्रविन्दु बनाएर गएको ६.९ रिक्टर स्केलको भूकम्पले पूर्वी र मध्यभागमा ठूलो क्षति निम्त्याएको छ । अहिले पनि साना पराकम्पन आइरहेका छन् । भूकम्पका कारण भीमकाय पहिरोको सम्भावना पनि छ । निर्माण भएका भौतिक संरचना, भौगर्भिक अवस्था र सम्भावित खतराबारे त्रिचन्द्र क्याम्पसको भूगर्भशास्त्र विभागका सहप्राध्यापक एवं जापानको कागावा विश्वविद्यालयका भिजिटिङ प्रोफेसर तथा इन्जिनियरिङ भूगर्भविद् रञ्जनकुमार दाहालसँग कान्तिपुरका अब्दुल्लाह मियाँले गरेको कुराकानीको सम्पादित अंश ।
नेपालमा भूकम्पबारे कस्तो अनुमान गरिएको थियो ?
हामीले ३० देखि ५० वर्षमा मुलुकमा ठूलो भूकम्प जान सक्छ भनेर भन्दै आएका हौं । वैज्ञानिकहरूले पनि १९९० कै जस्तो भूकम्प दोहोरिन सक्ने आँकलन गरेका थिए । काठमाडौंदेखि देहरादुनसम्म कुनै पनि ठाउँमा केन्द्रविन्दु बनेर भूकम्प जान्छ भनिएको थियो, त्यो शनिबार पुष्टि भयो । पोखराबाट पश्चिमतिरको भागमा अझै अर्को भुइँचालो जान सक्छ भनेर वैज्ञानिकहरूले आँकलन गरेका छन् तर, त्यो कहिले जान्छ भन्न सकिन्न ।
भूकम्पीय क्षतिबारे हामीले के कस्तो अनुमान गरेका थियौं ?
अहिलेको क्षतिलाई प्राविधिक भाषामा भनिने ७ र ८ नम्बर स्तरका हुन् । ९ र १० पुगेको छैन, ९ र १० नम्बर स्तरको क्षति हुने हो भने हामीकहाँ कुनै संरचना पनि नरहन सक्छन् । ७ र ८ स्तरको क्षतिभित्र खासगरी माटो र काँचो इँटाले बनेका घर पहिलो सूचीमा पर्छन् । अहिलेको भूकम्पले माटो, ढुंगा र काँचो इँटाले बनेकै घर बढी भत्किएका छन् । माटो कमजोर भएका कारण ठूला र नयाँ संरचना पनि भत्किएका छन् ।
अहिलेको भूकम्पले त काठमाडौंमा नयाँ र पक्की घरमा पनि क्षति पुगेको देखिन्छ नि ?
काठमाडौं उपत्यकामा कुनै पनि संरचना नक्सा पास गरेअनुसार बनाइएको छैन । त्यो नै पहिलो समस्या हो । हामीले जमिन कस्तो छ भनेर कहिल्यै अध्ययन गरेनौं । जस्तोसुकै जमिनमा पनि तीन फिट खाल्डो खनेपछि पुग्यो भन्ने हाम्रो मानसिकता हुने गरेको छ जुन गलत हो । संरचना निर्माणमा पनि स–साना भूल गर्दै आएका छौं । संरचना निर्माणमै हामी ओभरल्याप गर्छौं छिटो निर्माण सक्नका लागि । ए भैहाल्छ नि, के हुन्छ र ? भन्ने जस्ता लापरबाहीले अहिले हामीले यो समस्या भोग्नुपरेको हो । अहिले भत्किएका घरहरूमा हेर्दा यस्तै मसिना समस्याहरू देखिन्छन् । काठमाडौंको जमिन सबै ठाउँमा उस्तै प्रकृतिको छैन । फरक–फरक छ । तर, घरहरू सबैतिर उस्तै हिसाबले बनिरहेका छन् । कुनै बलियो ढंगले बनाइएको छ, कुनै कमजोर हिसाबले । अहिले काठमाडौंमा हेर्ने हो भने बलिया घर भत्किएर साना घरलाई हिर्काएको जस्तो देखिन्छ । अहिले हामीले भत्किएका घरहरू अध्ययन गरिरहेका छौं । अध्ययनका क्रममा बलियो घर भत्किएर सानो, कर्नरमा परेको घरलाई किचिदिएको छ । अर्को समस्या भनेको इन्जिनियरिङ भूगर्भलाई कहिल्यै पनि वास्ता गरिएन । गाविसहरूमा बनेका घर त नक्साबिनै बनेका छन् । ठेकेदारले जे भन्यो उसकै पछि लागेर घर निर्माण भएको देखिन्छ । नक्सा र इन्जिनियरिङतिर ध्यान नदिनु ठूलो भूल हो ।
समस्या नक्साको मात्रै हो कि जमिनको पनि हो ?
जमिनको पनि समस्या हो । घर बनाउँदा हामीले कहिल्यै पनि जमिन (भौगर्भिक) अध्ययन गराउनेतिर ध्यान दिएनौं । पहाडमा क्षति हुनुका पछाडिचाहिँ ‘टोपोग्राफिक समस्या’ हो । पहाडतिर डाँडाको नाक र भञ्ज्याङमा घर बनाइन्छ । त्यस्ता ठाउँहरू सुरक्षित हुन्छन् भन्ने हाम्रो विश्वास छ । तर, त्यस्ता स्थानमा पनि भूकम्पसँगै स्थानीय प्रभावले झनै बढी क्षति गराएको देखिन्छ । कतै गहिरो स्थानमा कम क्षति भएको पनि देखिन्छ । भौगर्भिक अध्ययनबिना नै ठूला संरचना निर्माण भए । हामी अध्ययन अनुसन्धानमा नराम्ररी चुकेका छौं । भूकम्पीय जोखिममा काम गर्छौं तर अध्ययन कहिल्यै गरेनौं । अर्को समस्या भनेको भूकम्पले निम्त्याउने पहिरो हो । पहिरोले गाउँ नै पुरिएका छन् । ठूला चट्टानहरू खसेर बाटाघाटाहरू पुरिएका छन् । काठमाडौंको हकमा माटो पुरेर बनाइएका घर बढी असुरक्षित देखिएका छन् । जमिन माथि उकासेर पक्की घर बनाइएका स्थानहरूका घरमा बढी क्षति पुगेको अध्ययनका क्रममा मैले देखें । त्यही भएर हामीले भूकम्पीय जोखिमका हिसाबले ‘जोनिङ क्षेत्र’ भनेर पहिचान गर्न सक्नुपर्छ । मध्य पहाडी राजमार्ग अन्तर्गत पूर्व–पश्चिममा १० वटा नमुना सहर बनाइने भनिएको छ, त्यहाँ सहर बनाउनुअघि त्यस क्षेत्रको माटो (भौगर्भिक) को अवस्था अध्ययन गर्नुपर्छ । नत्र कुनै पनि बेला ठूलो क्षति निम्तिन सक्छ । ठूला सहरमा ठूलो जनसंख्या बस्ने भएकाले क्षति कसरी न्यून गर्ने भन्नेमा पलपलमा सचेत हुनु जरुरी छ ।
गोरखाको बारपाकमा केन्द्रविन्दु बनेर गएको भूकम्पले पश्चिमतिर नभई पूर्वी क्षेत्रमा किन असर गर्यो ?
नेपालमा भूगर्भका विभिन्न खण्ड (ब्लक) हरू छन् । वैज्ञानिहरूले पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको भागलाई भूकम्पीय जोखिमका हिसाबले खण्ड–खण्डमा बाँडेका छन् । रामेछापदेखि लमजुङसम्म एउटा खण्ड पर्छ । त्यही खण्डमा शनिबार भूकम्प गएको हो । काठमाडौं उपत्यका पनि त्यही खण्ड (ब्लक) मा पर्ने भएकाले बढी हल्लियो । आफ्नो ब्लकभित्र जुन–जुन क्षेत्र कमजोर छ, त्यहीं धक्का बढी दिने हो, त्यहीं बढी क्षति गर्ने हो । असर अन्त पनि पुगेको छ तर ब्लक नै हल्लिएपछि त्यहीं बढी क्षति भयो/हुन्छ । तातोपानी वा सिन्धुपाल्चोक वा दोलखा कतैतिर यही क्षमता (६.७ रिक्टर) को भूकम्प गएको भए पनि यसरी नै हल्लिन्थ्यो, यस्तै क्षति हुन्थ्यो । गोरखामा पनि क्षति हुन्थ्यो ।
स–साना धक्काको महसुस कहिलेसम्म हुन्छ ?
वैज्ञानिकहरूले त्यो दिनदेखि आजसम्म स–साना भूकम्पका पराकम्पन गइसकेको आँकलन गरेका छन् । तथ्यांकगत आँकडा केलाउँदै उनीहरूले अब कम हुँदै जाने बताएका छन् । एक दिन दुई वटा, सातामा एउटा, महिनामा एउटा, तीन चार महिनामा एउटा गर्दै विस्तारै कम्पन सकिन्छ भन्ने वैज्ञानिकहरूको भनाइ छ ।
ठूला भूकम्पचाहिँ कति अवधिमा आउँछन् ?
ठूला भूकम्प यति नै अवधिमा आउँछ भनेर
ठ्याक्कै भन्न सकिन्न । वैज्ञानिकहरूले पनि यसको अनुमान लगाउन सकेका छैनन् । तर, यस्ताखाले भूकम्पबाट सिक्ने कुराचाहिँ धेरै नै हुन्छन् । १९९० अघिका भूकम्पले गरेका क्षतिबारे हामीसँग कुनै तथ्यांक छैन । भए पनि अलिअलि मात्रै छ । ९० सालकाले भन्दा अहिले आएको भूकम्पले धेरै पाठ सिकाएको छ । अहिले आएको भूकम्प भविष्यका लागि अध्ययन गर्न ठूलो सहयोगी बन्ने देखिन्छ । अहिलेको भूकम्पले भविष्यमा जोगिन आवश्यक पर्ने संरचना निर्माण गर्न ठूलो पाठ सिकाएको छ । इतिहास हेर्ने हो भने भूकम्पका कारण भीमकाय पहिरो गएका छन् । ती पहिरोपछि ठूला–ठूला बस्तीहरू बसेका छन् । बारपाक र पाल्पाको तानसेन पनि हजारौं वर्षअघि भूकम्पले बनाएका समथर भूभाग हुन् ।
पहिरो र भूकम्पबीच कस्तो सम्बन्ध हुन्छ ?
पहिरो र भूकम्प दाजु भाइजस्तै हुन् । भूकम्प जान्छ अनि पहिरो जान्छ । सुरुमा भूकम्पले पीडा दिएको हुन्छ, जुन अहिले हामीलाई दिएको छ । विगतमा हिमालय क्षेत्रमा गएका ठूला भूकम्पले हामीलाई धेरै स्थानमा बस्ने ठाउँ दिएको थियो । कतिपय स्थानमा समथर भाग बनाएको छ । हामीलाई बस्ने आधार खडा पनि गरेको छ । ती ठाउँ कमजोर छन् भन्न मिल्दैन । भूकम्पले भूस्वरूप नै बदलिदिन्छ । भूकम्पछि भूबनोट नै बदलिन पनि सक्छ । अहिले पनि गोरखा, रसुवा, नुवाकोट, सिन्धुपाल्चोक लगायतका स्थानको भूबनोट नै बदलिन सक्छ । ती जिल्लामा ट्रोपोग्राफिक नक्सा काम नलाग्न सक्छ । भूकम्पले जमिन नै उथल पुथल ल्याइदिने भएकाले भूकम्प र पहिरोबीचको सम्बन्ध अन्योन्याश्रित हुन्छ ।
भूकम्पीय जोखिमचाहिँ कसरी न्यून गर्न सकिन्छ ?
भूकम्पले समथर भागमा बस्ने हो भने मार्दैन । तर संरचनाले त मार्छ । घर बनाउँदा कत्तिको इमान्दार हुने भन्ने ठूलो कुरा हो । अर्को, कोको इमान्दार हुने ? सबैभन्दा पहिला आफैं इमान्दार हुनुपर्यो । आफैंले आफैंलाई मार्ने ठाउँ किन बनाउने ? घर बनाउँदा लापरबाही हुने गरेको छ । त्यो त्याग्नुपर्यो । ठेकेदारले जे भन्यो त्यही मान्दै गएकाले यस्तो भएको हो । अब त्यस्तो गल्ती दोहोरिन दिनु भएन । आजैबाट नेपाल सरकारले सम्पूर्ण नक्सा पासको काम बन्द गर्नुपर्छ । विशेषज्ञहरूलाई राखेर ‘उच्चस्तरीय विशेषज्ञहरूको समूह’ बनाउनुपर्यो । समूह बनाएर मात्रै काम छैन, अधिकार पनि दिनुपर्यो । भवन निर्माण आचारसंहिता बनाउँदा भूगर्भलाई वास्ता गरिएको छैन । जमिनको जाँच गर्ने भनिएको छ, तर कसरी र कसले गर्ने भन्ने स्पष्ट छैन ।
माटो परीक्षणै नगरी घर बनाइएकाले पाँचतले घर दुई तले भएका छन्, तीन तले घर एक तलेमा झरेका छन् । जमिन तरलीकरण भएर काठमाडौंमा धेरै घर भासिएका छन् । आचारसंहिता परिवर्तन गर्नेतिर सरकारले ध्यान दिनुपर्छ । भौगर्भिक जाँचलाई सम्बन्धित विशेषज्ञहरूबाटै अनिवार्यरूपमा गराएर मात्रै घर बनाउन अनुमति दिनुपर्छ । इन्जिनियरिङ भूगर्भलाई नबुझेसम्म समस्या समाधान हुनै सक्दैन । भूगर्भलाई मात्रै बुझेर हुँदैन । कस्तो ठाउँमा संरचना बनाउँदा ठीक हुन्छ भन्ने कुरा विशेषज्ञहरूबाटै पहिचान गराउनुपर्छ । यसमा सरकारले कन्जुस्याइँ गर्नु भएन ।
पहाडमा चाहिँ कस्ता घर बनाए जोगिन सकिन्छ ?
पहाडमा कुनै गरिब परिवारले एक लाख रुपैयाँमा घर बनाउन खोजेको छ भने नेपाल सरकारले यो लागतमा यस्तो घर बनाउनुपर्छ भनेर ढाँचा दिन सक्नुपर्छ । जथाभावी घर बनाउन रोक्नुपर्यो । गाविसस्तरसम्मै इन्जिनियरिङ प्रविधिमा घर बनाउन प्रोत्साहन गर्नुपर्यो ।
पहाडमा एउटै डिजाइनमा घर निर्माण कत्तिको सम्भव छ ?
इच्छाशक्तिको कुरा हो । गर्न नसकिने होइन । यसो गर्न हुन्न भन्छौं, भोलिपल्ट हामी आफैं दोहोर्याउँछौं । पहिरोको मुखमा घर बनाउने त हामी नै हौं नि । सरकारले प्रकोप/जोखिम न्यूनीनकरणसम्बन्धी ऐन जुन बनाइरहेको छ । त्यसलाई जतिसक्दो छिटो संसदबाट पास गर्नुपर्यो । नीति नियम बनाउनुपर्यो, योजना तर्जुमा गर्नुपर्यो । गरिबले पनि ५० हजार वा एक लाखमा प्रतिरोधी घर बनाउन पाउनुपर्यो । ‘इन्जिनियर्ड हाउस’ यो हो भनेर सरकारले नमुना दिन सक्नुपर्यो । नमुना घर बनाएर ज्यान जोगाउन सकिन्छ भने किन नबनाउने ?
काठमाडौंका बाँकी संरचनाचाहिँ भूकम्पीय जोखिमका हिसाबले कस्तो अवस्थामा छन् ?
हामीले बनाएको डिजाइन राम्रो छ, इन्जिनियरिङ हिसाबले हामी फेल भएनौं, आचारसंहिता राम्रैसँग लागु भएको रहेछ, सबै घर भत्किएनन् भनेर सरकारले जस लिन सक्छ, त्यो सही होइन । अहिले आएको भूकम्प लामो समयको थिएन । बलियो (स्ट्रङ) झट्का त ३० सेकेन्डजति मात्रै हो । एक मिनेटको बलियो झट्का आएको भए कल्पना नगरेको क्षति हुन्थ्यो । कुनै पनि राम्रा घर छैनन् । भूकम्पीय हिसाबले हेर्ने हो भने सबै कमजोर छन् । मेरो घर जोगियो भनेर मख्ख नहुनुस् । सुरक्षित भयो भन्ने होइन । कम समयको हल्लाइमा परेकाले धेरै मान्छेको घर जोगिएको हो । डिजाइन सुुरक्षित छैन भन्नेमा तपाईंहरू ढुक्क हुनुस् । अनावश्यक रूपमा अग्ला घर घटाउनेतिर जानु राम्रो हुन्छ । इन्जिनियरिङ भूगर्भ, स्ट्रक्चरल इन्जिनियर, आर्किटेक्ट इन्जिनियरलगातका विशेषज्ञहरूको समूह बनाएर आचारसंहितामा के गर्न सकिन्छ अध्ययन गर्नुपर्छ । काठमाडौं र बाहिर अलग–अलग आचारसंहिता बनाउनुपर्छ ।
अलिअलि क्षति भएका, सामान्य चर्किएका घर भएकाहरूलाई तपाईंको सुझाव के ?
पिल्लर सिस्टमको घर छ, पिल्लर दबिएको, हात्तीपाइलो पिल्लर नै दबिएको, जमिन कमजोर छ भने त्यस्तो घरमा बस्दै नबस्नुस् । ज्वाइन टुटेको, क्र्याक भएको, ढल्किएको, डन्डी देखिएको भए खतरनाक हुन्छ । जतिबेला जे पनि हुन सक्ने सम्भावना हुन्छ । पर्खाल मात्र अलिअलि चर्किएको छ भने खाना पकाउन र शौचालय जान सकिन्छ । तर, नसुत्न म सल्लाह दिन्छु । साधारण (एक/दुई मिमि चर्किएको) मा कुनै खतरा हुँदैन । इँटा नै बाहिर देखिएको घर छ भने त्यस्तो घरमा बस्नु भएन । ढुंगामाटोले बनेका घर पनि वारपार नै चर्किएको, तलमाथि चर्किएको छ भने त्यस्ता घरमा नबस्नु राम्रो हुन्छ । दुई–तीन वटा घर जोडिएका छन्, बीचको कुनै भत्किएको छ भने भत्किएको र खतरनाक घर भत्काउनु राम्रो हुन्छ । पक्की घरको हकमा पनि ड्यामेज भएका जति प्राविधिकहरूलाई देखाएर भत्काउँदा राम्रो हुन्छ ।
इकान्तिपुरवाट

0 comments
Write Down Your Responses