अन्नपूर्ण अभियानको राहत सामग्री घर नभत्किएकाहरूले यसरी लुटेपछी ... हेर्नुहोस्
काठमाडौं : भूकम्प पीडितका लागि बाँड्न लगिएको अन्नपूर्ण राहत अभियानको खाद्य सामग्री शनिबार अपरान्ह रामेछापको मन्थलीमा लुटिएको छ । राहतस्वरुप लगिएको खाद्यान्न मन्थली नगरपालिका–६ अर्चलेमा भूकम्पले घर नभतकेका नवलपुरका स्थानीयको समूहले लुटेर लगेको हो ।
भूकम्प पीडितलाई बाँड्न लगिएको १७ बोरा चामल र १० बोरा अन्य खाद्यान्न लुटिएको मन्थली निवासी भूकम्प पीडित आकाश भट्टराईले अन्नपूर्ण पोस्ट्लाई जानकारी दिए ।
‘काठमाडौंबाट भूकम्प पीडितलाई बाँड्न अन्नपूर्ण पोस्ट्द्वारा सञ्चालित अन्नपूर्ण राहत अभियानले पठाएको १७ बोरा चामल र अन्य लायन्स क्लबले पठाएको १० बोरा खाद्यान्न घर नभत्केका नवलपुरका स्थानीयले लुटेर लगे’, भट्टराईले भने, ‘राहत बाँडिरहेका बेला प्रहरीकै अगाडि घरेलु हतियार देखाएर हामीलाई मार्ने धम्की दिँदै खाद्यान्न लुटे ।’
अन्नपूर्ण राहत अभियान र लायन्स क्लबले पठाएको सो खाद्यान्न मन्थली नगरपालिकाको अर्चलेका भूकम्प पीडितलाई बाँड्ने तयारी गर्दा लुटिएको भट्राईले जानकारी दिए ।
‘भूकम्प पीडितलाई राहत दिन लाग्दा नवलपुरका खेम खड्का नेतृत्वको समूहले हामीलाई कुटपिट गरी लुटपाट मच्चाए’, भूकम्प पीडित भट्टराईले भने, ‘मन्थली बस्ने नवराज खड्काको निर्देशनमा लुटपाट भएको हो । प्रशासनलाई जानकारी गराउँदा उल्टै थुन्ने धम्की दिए ।’
मन्थली–६ अर्चलेमामात्रै भूकम्पले ८७ घर ध्वस्त भएका छन् । ६ नम्बर वडाभरीमा तीन सय घर ध्वस्त भएको भट्टराईले जानकारी दिए ।
‘राहत लुटिएपछि स्थानीय प्रहरी प्रशासनमा फोन गर्दा सुरक्षाको कुनै पहल गरेनन’, भट्टराईले भने, ‘यहाँ अहिलेसम्म राज्यका निकाय आएका छैनन् । तीन सय घर भत्केको ठाउँमा एक सय १० वटा पाल दिएका छन् । हामी रुखमुनि बसिरहेका छौं ।’
प्रशासनको लिखित अनुमति लिएर अर्चलेमा स्थानीय नै राहत अभियानमा जुटेका छन् । उनीहरुले काठमाडौंबाट संघ संस्थाले पठाइदिएको राहतका भरमा छाक टारिरहेका छन् ।
अन्नपुर्ण पोष्टवाट


0 comments
Write Down Your Responses