म्यारिज (विवाह) भन्ने चिज मिटिङ अफ माइन्ड एण्ड हर्ट (दिमाग र मुटुको मेल) हो- चेन्जमेकर रविना
म्यारिज (विवाह) भन्ने चिज मिटिङ अफ माइन्ड एण्ड हर्ट (दिमाग र मुटुको मेल) हो- चेन्जमेकर रविना ---
उनले दाहिने हातमा हत्केलादेखि पाखुरासम्म अंग्रेजीमा ट्याटु लेखाएकी छिन्, ‘फ्रिडम’ अर्थात् स्वतन्त्रता । दाहिने गोलीगाँठामा पाउजु झैं कलात्मक शैलीमा अर्को ट्याटु खोपिएको छ, ‘फ्रिडम’ । शरीरका अंगमा फ्रिडम भन्दै ट्याटु कोर्नुको अर्थ चाहिँ के हो ? बैंकर रविना देशराज श्रेष्ठले अथ्र्याइन्, ‘हरेक व्यक्तिले फ्रिडम खोज्छ । तर फ्रिडमको अर्थ हो व्यक्तिगत जिम्मेवारी ।’
आइतबार भेट्न जाँदा मेगा बैंकस्थित आफ्नै कार्यकक्षमा व्यस्त थिइन् रविना । बैंककी चिफ विजनेश अफिसर उनले रुजु गर्नुपर्ने दुई तीन खात फाइल देखाउँदै भनिन्, ‘वन्ली टेन मिनेट है ।’ ‘ओके’ भनेर कुराकानी सुरु भयो ।
स्वतन्त्रताको परिभाषा अघि बढाउँदै उनी आफ्नो जीवनतर्फ मोडिइन् । ‘म सिंगल मदर हुँ ।’ सायद एक नेपाली महिलाले आफुलाई यसरी प्रस्तुत गर्न सक्नुपनि ‘फ्रिडम’ नै हो । अझ अघि बढिन् रविना, ‘म विवाहित हुँ । तर, म र श्रीमानसँगै बस्दैनौं । उहाँ नराम्रो मान्छे पनि होइन, न म नै नराम्रो हुँ । सँगै बस्न मन मिलेन । म दुई छोरासँग बस्छु । उहाँ आफ्नो घरमा बस्नुहुन्छ । म र मेरो हस्बेण्ड साथी हो । अहिलेपनि हामी बाहिर घुम्न जान्छौं । म कहिलेकाँही उहाँको परिवारसँग भेटघाट पनि गर्छु ।’
रविना पेशागत रुपमा सफल महिला हुन् । तर, उनको वैवाहिक जीवन सफल भएन । यसको पछाडि पनि उनको आफ्नै दृष्टिकोण छ ‘म्यारिज (विवाह) भन्ने चिज मिटिङ अफ माइन्ड एण्ड हर्ट (दिमाग र मुटुको मेल) हो । यदि माइन्ड र हर्ट मिट भएको छैन भने जबरजस्ती गरेर समाजले के भन्छ भनेर आफुलाई मारेर बस्ने मान्छे होइन म ।’
२१ र १६ वर्षका दुई छोराका आमा हुन् उनी । १७ वर्षसम्म परिवारमा बुहारीको भूमिका पनि निर्वाह गरिन् । तर, श्रीमान्सँग मन नमिलेपछि समाजको आँखा भन्दा आफ्नो स्वतन्त्रता निको लाग्यो उनलाई । हात खुट्टामा फ्रिडम लेखिएको ट्याटु हेर्दा पनि उनमा स्वतन्त्रताको लहर बढ्छ ।
रविना ग्ल्यामरस बैंकर हुन् । उनको सुन्दरताको चर्चा बैंकिङ क्षेत्र भन्दा बाहिर पनि हुने गर्छ । २४ वर्ष लगातार काम गरेकी उनको परिपक्वता बाहिरी लुक्समा देखिदैन । ‘हो म नक्कली छु । म आफूलाई लुक आफ्टर गर्छु । तर मेरो काम छोड्दिन ।’ तर कहिलेकाँही सुन्दरताले उनलाई काममा प्रमाणित गर्नुपर्ने बाध्यता पनि खडा गरिदियो । थप्छिन्, ‘२४ वर्षअघि मैले मेरो मुहार मात्र होइन दिमाग पनि सुन्दर छ भनेर प्रुफ गर्नुपर्यो ।’
रविनाको बैंकिङ करिअर स्टान्डर्ड चार्टर्ड बैंकबाट सुरु भएको हो । ग्रामीण विकास विषय पढेकी रविनालाई बैंकभन्दा बाहिरको संसार रुचीकर लाग्छ । एकपटक त उनले बैंक छाड्ने निधो पनि गरेकी थिइन् । फेरि यतै रुमल्लिइन् । ‘मैले बैंकमा नै बसेर गाउँमा सेवा गर्न सक्छु भन्ने निर्णय गरी बैंकिङ करिअर अघि बढाएकी हुँ ।’
रविना काठमाडौंमा जन्मिएपनि शिक्षादिक्षा भारतमा भयो । प्लस टु मात्रै काठमाडौंमा पढेकी हुन् । क ख पनि ६ कक्षा पुगेर मात्रै सिकेकी उनीसँग हिन्दु धर्मशास्त्रका ज्ञान छ । गीताको लिला बुझेकी छिन् । तर हिन्दुत्व भित्रका शिवलिंगलाई दूध चढाएर पुजा गर्ने, मसाज गर्ने संस्कार उनलाई उति रुचीकर लाग्दैन । ‘हामी शिवलिंगलाई पुजा गर्छौं, मसाज गर्छौं तर घरमा आफ्ना छोराछोरीसँग सेक्सका बारेमा खुलेर कुरा गर्न किन सक्दैनौं ?’
यीनै प्रवृत्तिका कारण एउटा निच्छल बालक हुुर्किँदै गएपछि बलात्कारी बन्दै गएको छ । युवाहरु कुलतमा लागेका छन्, हत्यारा बनेका छन् । यस्तो प्रवृत्ति हटाउन रविना आफ्ना छोरासँग साथीको व्यवहार गर्छिन् । छोराहरुलाई सम्झाउने तरिका पनि गज्जबको छ उनको । भन्छिन्, ‘मैले मेरो बच्चालाई म तिम्रो आमा हो । तिमीलाई जन्म दिएँ भन्ने बित्तिकै तिमीले मलाई माया गर्नुपर्ने जरुरी छैन । पहिले तिमीले मलाई चिन म को हुँ ? तिम्रो आमा बाहेक म महिला हुँ । म एउटा मान्छे हुँ । मलाई चिन । त्यसपछि मलाई लाइक गर । अनि लभ गर ।’ उनी अझ थप्छिन्, ‘लभ जबरजस्ती होइन, आफै आउँछ । सम्बन्धले मात्रै मान्छेलाई लभ हुँदैन ।’
रविनालाई भेट्ने धेरैजसोको पहिलो प्रश्न हुन्छ, तपाईलाई यो तहसम्म आउन कस्तो संघर्ष गर्नुपर्यो ? तर, आफ्नो सफलतामा कतै संघर्ष भेट्दिनन् उनी । ‘महिलाहरु उच्च तहमा पुग्न संघर्ष होइन काम गर्नुपर्छ । त्यसलाई संघर्ष भन्ने कुरै होइन । यो संघर्ष होइन ।’ उनी थप्छिन्, ‘मैले मात्र काम गरेको हो ।’
तर, यो सफलताको पछाडि आफ्नै पारिवारिक तीन पुस्ता जोडेर उनी विश्लेषण गर्छिन्, ‘मलाई लाग्छ केही परिवर्तन हुनको लागि तीन वटा जेनेरेशन चाहिन्छ । मेरो ममी र बुबा पहिलो जेनेरेशन, म सेकेण्ड र मेरो छोरा थर्ड जेनेरेशन । मेरो बुबाममीले मलाई पढाउनुभयो । काममा पठाउनुभयो । म काम गर्न अघि सरें । मेरो छोराहरुले पनि ममीको काम किचनमा हो भनेर सोच्दैनन् । त्यसको लागि उत्साह चाहिन्छ ।’
रविनाको सिद्धान्त छ, ‘मेरो लाइफको बारेमा जान्न मैले जति अफर गर्छु त्यति हो तपाईंको विजनेश । अर्काको ढोका पछाडिको कुरा कसलाई के चासो ?’ त्यसैले उमेर, कमाई जस्ता कुरा कसैसँग खोल्न जरुरी ठान्दिनन् रविना ।
रविना बोल्ड छिन् । उनको कुराकानी पनि बोल्ड नैै छ । व्यवहार पनि त्यस्तै । उनले आफुलाई जिस्क्याउने तीन जना केटालाई कुटेकी पनि छिन् । घटना सुनाइन्, ‘स्कूलमा माडबाडी समुदायको एकजना केटा थियो । गोरी भनेर जहिल्यै जिस्क्याइरहने । धेरै पटक नजिस्क्याउ भनें । एक दिन त म कुन मुडमा थिएँ । फेरि जिस्क्यायो । छातै छाताले ठोकिदिएँ ।
अर्को, कलकत्तामा । सडकमा हिँडिरहेको थिएँ एउटा केटाले मेरो संवेदनशील अंगमा छोयो । मलाई ठीक लागेन । एक छिन त के गरुँ गरुँ भयो । त्यसपछि फर्केर गएर पिटिदिएँ त्यो केटालाई । अर्काको शरीर छुने तिम्रो अधिकार छैन । भनेर कुटें । कलकत्तामै बाटोमा हिँडिरहँदा अर्को केटाले च्याप्प हात समायो । म त अचम्म परें । अनि त्यसलाई पनि कुटिदिएँ ।’
नेपाली महिलाका बारेमा कुरा गर्दा उनी बोल्ड प्रकृतिकै कुरा गर्न रुचाउँछिन् । ‘पहिला हाम्रो हजुरबुबाहरुको ४/५ जना श्रीमती हुन्थे । यी कहानी सुन्नुपरे आँखा झिमिक्क नगरेर हामी सुन्छौं’ उनले थपिन्, ‘मैले मेरो ३ जना श्रीमान् छ भनुँ त । के हुन्छ यो समाजमा ? तपाई मलाई कसरी हेर्नुहुन्छ ?’
रविना आफ्नो विश्लेषण गर्छिन्, ‘माइन्डमा सेट भएका यही कुरा अब हामीले चेन्ज गर्नुपर्छ । गाउँघरका मान्छेले यी कुरा सजिलै चेञ्ज गर्न सक्दैनन् । सुरुआत पढेका मान्छेबाट गर्नुपर्छ । म चेन्जमेकर बन्न चाहन्छु । रविनाको भनेकै त्यही चेन्जमेकर हो >
श्रोत- चक्रपथ अनलाईनवाट


0 comments
Write Down Your Responses