कुख्यात अन्तराष्ट्रिय यौन दुराचारी नेपालमा पक्राउ परे । को हुन् त उनी - हेरौ ।

नवराज मैनाली / नयाँ पत्रिका
कुख्यात यौन दुराचारीका रूपमा संसारभर चिनिएका एक अन्तर्राष्ट्रिय अपराधी नेपालमा पक्राउ परेका छन् । बालकहरूसित अप्राकृतिक मैथुन गरेको आरोपमा क्यानेडियन नागरिक अर्नेस्ट फेनविक म्याकइन्टोस पक्राउ परेका छन् ।
म्याकइन्टोस यौन दुराचारसम्बन्धी अपराधमा विश्वमै कुख्यात मानिन्छन्् । क्यानडामा मात्र नभएर उनीविरुद्ध भारत तथा अफ्रिकी देशहरूमा पनि मुद्दा दायर छन् । चार दशकदेखि उनीमाथि यस्ता मुद्दा लाग्न थालेका हुन् । ललितपुर प्रहरीले गत ४ पुसमा उनलाई पक्राउ गरेको हो । बुधबार जिल्ला अदालत ललितपुरबाट उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको ललितपुर प्रहरीका प्रवक्ता डिएसपी पवन गिरीले बताए ।
म्याकइन्टोसले दुई बालकलाई अप्राकृतिक मैथुन गरेको अनुसन्धानबाट खुलेको छ । अरू बालक पनि पीडित हुन सक्ने र अनुसन्धान जारी रहेको डिएसपी गिरीले बताए ।
पुल्चोकस्थित क्याफे ब्राजिल गेस्ट हाउसमा बस्दै आएका म्याकइन्टोसले विभिन्न प्रलोभन देखाएर बालकहरूलाई आफ्नो कोठामा लैजाने र अप्राकृतिक मैथुन गर्ने गरेको अनुसन्धानबाट खुलेको छ । एक बाल अनाथालयमा पुगेर केही समयअघि उनले दुईजना बालकलाई सहयोग गर्ने भन्दै जिम्मा लिएका थिए । तीमध्ये एक बालकलाई उनले गत २७ मंसिरमा आफ्नो डेरामा लिएर गएका थिए । बालकको कपडा खोलेर उनले अप्राकृतिक मैथुन गरेको पीडितले दिएको उजुरीमा उल्लेख छ ।
गत २८ साउनमा म्याकइन्टोस हवाईमार्ग हुँदै भारतबाट नेपाल आएका थिए । त्यसयता उनी ब्राजिल गेस्ट हाउसमा बस्दै आएका थिए । उनले आफूलाई समाजसेवीका रूपमा चिनाएर बालकहरूसँग नजिकिने गरेका थिए ।
घटनाको सात दिनपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । सुरुको बयानमा उनले घटना अस्वीकार गरेका थिए । ‘पछि पोलिग्राफ मेसिनको सहयोगमा बयान गराउँदा स्वीकार गरेका हुन्,’ डिएसपी गिरीले भने, ‘पोलिग्राफ टेस्टका क्रममा अर्का एक बालकलाई पनि उनले यौनशोषण गर्न खोजेको खुल्यो, ती बालकसँग बुझ्दा घटना प्रमाणित भयो । ठमेल र असन क्षेत्रका सडक बालबालिकलाई पनि उनले गेस्ट हाउसमा लिएर जाने गरेको अनुसन्धानमा खुलेको छ ।’
ललितपुर प्रहरीले म्याकइन्टोसलाई मुलुकी ऐनको जबर्जस्ती करणी महलको ९ (क) को कसुरअनुसार मुद्दा दायर गरेको छ । ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकबहादुर कँुवरको इजलासले उनलाई पुर्पक्षमा पठाउने आदेश दिएको हो । अदालतको आदेशमा उनी नख्खु कारागार चलान भएका छन् ।
पासपोर्ट नम्बर बिए ४५३२४९ भएका म्याकइन्टोसले आफू क्यानेडियन आर्मीबाट रिटायर्ड भएको बयान दिएका छन् । जब कि क्यानेडियन मिडियाले उनी व्यापारी भएको उल्लेख गरेका छन् । उनी नेपालको जेलमा रहेका अर्का अपराधी चाल्र्स शोभराजजस्तै कुख्यात भएको अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी बताउँछन् ।

के हो बाल यौनदुराचार ?
बाल यौनदुराचार एक किसिमको मानसिक रोग हो । यस्ता रोगीले प्राय: ११ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नो निशाना बनाउने गर्छन् । कलिला बालबालिकाका यौनांगसँग खेल्न उनीहरू रुचाउँछन् ।
प्राय: पश्चिमी देशहरूमा यस्तो समस्या छ । पश्चिमी देशका नागरिक यस्तो अपराधमा नेपालमा पटक–पटक पक्राउ पर्दै आएका छन् । दुई वर्षअघि एक कुख्यात बाल यौन दुराचारी पक्राउ परेका थिए भने चार महिनाअघि मात्र अमेरिकामा मोस्ट वान्टेड रहेका अर्का निल स्ट्यामर नेपालमा पक्राउ गरी अमेरिका फर्काइएका थिए ।
हालै पक्राउ परेका म्याकइन्टोस भारत तथा श्रीलंकामा पनि यस्ता अपराधमा संलग्न थिए । द स्टार डटकमका अनुसार भारतको गान्धी आश्रमका बालकहरूलाई उनले घुमाउन लैजाने तथा पार्टी दिने भन्दै होटलमा लगेर यौन दुराचार गर्थे । तर, प्रहरीमा उजुरी नपुगेकाले उनी त्यहाँ पक्राउ परेनन् ।
नेपालमा पक्राउ परेपछि उनले आफ्नो परिचय लुकाउन खोजेको प्रहरी अधिकारी बताउँछन् । आफ्नो समाचार कुनै हालतमा सार्वजनिक नगर्न उनले मिडियामा दबाब दिएका थिए ।

३५ वर्षपछि सार्वजनिक भए पीडित

सन् १९७० मा म्याकइन्टोसको यौन दुव्र्यवहारको सिकार हुँदा क्यानडाका व्यापारी बर्ब मार्टिन १० वर्षका थिए, करिब ३५ वर्षपछि प्रहरीमा उजुरी गरेका उनी झन्डै ४५ वर्षको भएपछि आफू पीडित भएको भन्दै सार्वजनिक भएका छन् ।


क्यानडाको पोर्ट हाकेसबुरीका व्यापारी बर्ब मार्टिन सन् १९७० मा १० वर्षका थिए जतिवेला उनी म्याकइन्टोसको यौन दुव्र्यवहारमा परेका थिए । करिब ३५ वर्षपछि प्रहरीमा उजुरी गरेका उनी झन्डै ४५ वर्षपछि आफू पीडित भएको भन्दै सार्वजनिक भएका छन् ।
सुरुमा आफ्नो नाम गोप्य राखेकोमा चार महिनाअघि अर्थात् गत अक्टोबरमा मात्र उनी सार्वजनिक भएका हुन् । नोभा स्कोटिया अदालतमा उपस्थित भएर उनले आफ्नो बयान रेकर्ड गराएका थिए । ‘आफूलाई पीडितका रूपमा चिनाउन मलाई लाज लागेको छैन,’ उनले भने, ‘बाहिर खुलेर यो विषयमा बोल्न पाउँदा गर्वको महसुस गर्छु ।’
यसअघि उनी ‘आरएम’ कोड नामबाट चिनिने गर्दथे । उनले अरू पीडितहरूलाई पनि बाहिर आएर यौन दुराचारी म्याकइन्टोसविरुद्ध सँगै लड्न आग्रह गरेका छन् ।
सन् १९७० मा क्यानडाको नोभा स्कोटियाको सडकमा यौन दुराचारीको बिगबिगी भएको र आफू त्यसबाट पीडित भएको उनले बताए ।

कृपया तलको फेसवुक पेजमा एक लाईक गर्नु भुल्नुभएको छ भने अहिले नै गर्न सक्नुहुनेछ , जसले तपाईला सधै रमाईला रमाईला खवरसम्म पुर्याईरहन्छ ।

0 comments

Write Down Your Responses