काठमाडौं, श्रावण १८ -
दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास लागि १० हजार करोड नेपाली रुपैयाँ सहुलियत ऋण सहयोग गर्ने घोषणा गरेका छन् ।
संविधानसभामा आइतबार विशेष सम्बोधन गर्दै उनले उक्त रकम नेपालले आफ्नो प्राथमिकता अनुसार भौतिक पूर्वाधार र जलविद्युत आयोजना लगायतमा खर्च गर्न सक्ने बताए । उनले अहिले गरिने सहयोग पहिले गरिएका अन्य सहयोग भन्दा छुट्टै रहेको घोषणा गरे ।
नेपाली भाषामा सम्बोधन सुरु गरेका उनले केही बेरपछि हिन्दीमा बोलेका थिए । उनले धेरै अगाडि सम्झौता भएर पनि काम बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम एक वर्ष भित्र सुरु गरिने प्रतिवद्धता समेत व्यक्त गरे ।
नेपालले भारतलाई बिजुली मात्रै बेचेर समृद्ध देश बन्न सक्ने भन्दै उनले बिजुली उत्पादन र खरिदका लागि भारत तयार रहेको बताए । 'सित्तैमा नेपालको बिजुली र पानी हामीले लिन चाहेका छैनौं,' उनले आफ्नो भाषणमा भने 'बिजुली किन्न चाहेका छौं ।' अहिले नेपाललाई दिंदै आएको बिजुली दोब्बर गरिने घोषणा गर्दै उनले त्यसका लागि प्रसारण लाइन बनाउने कामलाई प्राथमिकतामा राखिएको बताए । उनको कथन थियो 'अहिले हामीले तपाईको अध्यारो हटाउँछौं, एक दशकपछि नेपालले भारतको अध्यारो हटाउनेछ ।'
आफ्नो भाषणको लामो समय नेपाल र नेपालीको प्रशंसा एवं दुई देशको एतिहासिक सम्बन्धका बारेमा खर्चिएका मोदीले पेट्रोलियम पदार्थ पाइप लाइनबाट ल्याउने व्यवस्थ गर्ने र छात्रवृति बढाउने घोषणा समेत गरे । उनले जडिबुटीको उत्पादन, अर्गानिक खेती, पर्यटन लगायतको क्षेत्रबाट नेपालले ठूलो फाइदा उठाउन सक्ने सुझाव समेत दिए । नेपालको विकासका लागि भारत जुनसुकै सहयोग गर्न पछि नहट्ने उनको प्रतिवद्धता थियो ।
उनले भारतबाट नेपालमा टेलिफोन गर्दा मँहगो परिरहेको विषयमा आफूले सम्बन्धित निकायसँग छलफल थालेर सस्तो बनाउने प्रतिवद्धता व्यक्त गरेर भारतमा काम गरिरहेका लाखौं नेपाली र तिनको परिवारको मन जित्ने प्रयास समेत गरे ।
सडक, सूचना प्रविधी र ट्रान्समिसन मिसन लाईनको विकास हुनसके नेपाल समृद्ध हुने उनको भनाई थियो ।
भारतले एक अर्व डलर सहुलीयत ऋण दिने
ईकान्तिपुरकर्मी अनिल गिरीका अनुसार प्रधानमन्त्री सुशील कोइरालासँगको भेटवार्तामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक अर्ब डलर सुहुलियत ऋण दिने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थमन्त्री रामशरण महतका अनुसार उक्त ऋण सडक र जलविद्युतको विकासमा लगाइने छ ।
परियोजनाको छनोट भने दुई देशबीचका अधिकारीहरु बसेर छनौट गरिने छन् । यसका साथै अन्य तीन विषयमा पनि समझदारी भएको छ । त्यसमा गलगाँठको नियन्त्रण, नेपाल टेलिभिजन र दूरदर्शनबीचको सहकार्य र पर्यटन प्रबर्धन गर्ने रहेका छन् ।
ईकान्तिपुर दैनिकवाट


0 comments
Write Down Your Responses