गाउमा विहे गर्ने महिला नभएपछी पुरूषहरू तनावमा

नुवाकोट :
नुवाकोटको घ्याङ्फेदी गाउँ विकास समितिमा महिलाको संख्या अत्यन्त न्यून भएकोले धेरै पुरुषले विवाह गर्न पाएका छैनन्। गाउँका किशोरी तथा युवती अधिकांश बाहिर जाने भएकोले यस्तो समस्या देखिएको हो।
गाउँमा महिला नभएकै कारण सिसिपुलगायतका गाउँका युवाहरु एक दशकदेखि अविवाहित रहनुपरेको सामाजिक पीडा घ्याङ्फेदीका युवासँग छ ।  विवाहका लागि महिला नभएकै कारण घ्याङ्फेदीका १०० भन्दा बढी पुरुषले विवाह गर्न पाएका छैनन्।
पछिल्लो समय गाउँबाट नै किशोरी लगेर बेचबिखन गर्ने घटना मत्थर बन्दै गएको समयमा अहिले हराएका युवती दलालको फन्दामा परेको आशङ्का गाउँलेले गरेका छन्। विसं २०२२ बाट महिला बिक्रीका कारण बदनामी कमाएको घ्याङ्फेदी गाउँ विकास समितिका चार हजारभन्दा बढी महिला भारतीय कोठीमा पुगेको अनुमान गरिएको छ।

पछिल्लो पटक गाउँबाट किशोरी हराएको घटनाले दलालहरु गाउँमा अझै सक्रिय रहेको पुष्टि भएको मानव बिक्रीविरुद्धमा अभियान चलाउने स्थानीयले बताएका छन्।उता, आफ्ना कारणले घ्याङ्फेदीको मानव बिक्रीको घटनामा कमी आएको दाबी गर्ने विभिन्न गैरसरकारी संस्था र सरकारी निकायको जिकिरलाई पनि यस घटनाले गलत बनाइदिएको छ।
यसैबीच यहाँ दुई किशोरी हराएका छन्। आइतबार राति १५ र २० वर्षीया किशोरी हराएको स्थानीयवासीले जानकारी दिएका छन्। हराएका किशोरी दुवै जना वडा नम्बर ५ हुम्केलका रहेका छन्। हराएका किशोरी मानव बेचबिखनमा संलग्न रहेका दलालले लगेको हुनसक्ने भन्दै गाउँमा त्रास फैलिएको छ। रासस

0 comments

Write Down Your Responses