अभिनेत्री दिपाश्री को रक्सी खर्च कति ? हेरौ यो अन्तर्वार्ता

काठमाडौं,पुस २० – अभिनेत्री दिपाश्री निरौलाले महिनामा मध्यपानमा यती धेरै खर्च गर्छिन् भन्दा पत्यार लाग्दैन तर उनले नै महिनामा  ५० हजारसम्म  रक्सीमा खर्च हुने वताएकी छिन् । हेरौ आजको नयाँपत्रिका दैनिकले लिएको यो अर्तर्वार्ता ।

दीपाश्री निरौला, अभिनेत्री
तपाईंको घरको अर्थमन्त्री को हो ?
गृहमन्त्री, अर्थमन्त्री, सञ्चारमन्त्री जम्मै म आफैं हो ।

मासिक घरखर्च कति हुन्छ ?
यति नै भन्ने हुँदैन । औसतमा २० देखि ३० हजार रुपैयाँसम्म हुन्छ । पाहुनापात बढी भएको महिना ५० हजारसम्म हुन्छ ।

खर्चको विवरण राख्ने गर्नुभएको छ कि छैन ?
छैन । यो महिना यति खर्च गरियो भन्ने अनुमानचाहिँ गर्छु ।

केमा बढी खर्च हुन्छ ?
लत्ताकपडामा सबैभन्दा बढी हुन्छ । त्यसपछि खानपिनमा । गाडी पाल्नुपरेकाले पनि खर्च बढेको छ । सर्भिसिङ गर्नुपर्‍यो, पेट्रोल हाल्नुपर्‍यो । मोबाइलमा पनि खर्च हुन्छ । बाबुआमा भएको घर, औँसीपूर्णिमामा मानिस आइरहन्छन्, दानदक्षिणा दिनुपर्छ । यसमा पनि खर्च हुन्छ ।

तरकारी, लत्ताकपडा आदिमा कति खर्च होला ?
कपडामा मासिक १०–१५ हजारजति हुन्छ होला । खाद्यान्नमा ७–१० हजारजति हुन्छ । पत्रपत्रिकाको पनि म नियमित ग्राहक हुँ । कहिलेकाहीँ किताब पनि किन्छु । जीवनी र मन छुने खालका कथा, उपन्यासका किताब मागेर होइन, किनेर पढ्ने मेरो बानी छ ।

धूम्रपान, मद्यपानमा मासिक कति खर्च हुन्छ ?
धूम्रपानमा एक रुपैयाँ पनि हुँदैन । मद्यपानमा चाहिँ भइरहन्छ । रक्सीले मानिसलाई नजिक्याउँदो रहेछ । त्यसैले पार्टी गरिरहन्छु । जाडोमा रक्सीमा बढी खर्च हुन्छ ।

मोबाइलमा कतिजति खर्चिनुहुन्छ ?
औषतमा मासिक तीन हजार । कामको चाप बढेका वेला मोबाइलको प्रयोग पनि बढ्छ । त्यतिवेला पाँच हजारसम्म खर्च हुन्छ ।

मासिक आम्दानी कति हुन्छ ?
कहिलेकाहीँ मनग्गे हुन्छ, कहिलकाहीँ कम । उसो त मेरो कमाइ राम्रो छ । कमाएको रकम नउठेर मात्र हो ।

कति पैसा उठ्न बाँकी होला ?
सबैतिरबाट उठ्यो भने हातमा त्यस्तै ३०–४० लाख पर्ला ।

तपाईंको आम्दानीका स्रोत के–के हुन् ?
टेलिसिरियल ‘तितो सत्य’ मुख्य स्रोत हो । एफएम, विज्ञापनमा काम गर्दा पनि पैसा आउँछ । स्टेज पोग्राम पनि गर्छु।

घर भाडामा लगाउनुभएको छैन ?
भर्खरै त घर किनेँ, के लगाउनु भाडामा ?

पछिल्लो एक वर्षमा बजेट घाटा छ कि नाफा ?
हिसाब गरेको छैन । राम्रैसँग बाँचिएको छ भनौँ न ।

ऋण कत्तिको लिनुहुन्छ ?
खासै लिँदिनँ । घर किन्दा लिएकी थिएँ । चुत्ता गरिसकेँ ।

घरबाहिर हिँड्दा खल्तीमा कति पैसा बोक्नुहुन्छ ?
कहिले एक रुपैयाँ पनि बोकिँदैन, कहिले लाखसम्म बोकिन्छ । एभरेजमा भन्नुपर्दा त्यस्तै एक हजारदेखि पाँच हजारको बीचमा बोकिएला । एटिएमले पैसा बोक्नै नपर्ने बनाइदिएको छ ।

अहिलेसम्म पैसा हराउनुभएको छ कि छैन ?
धेरै हराउँछु । केही दिनअघि घरमै चोरी भयो । पाँच लाख हरायो । प्रहरीले अनुसन्धान गरिरहेको छ । न्यायाधीश रणबहादुर बमको हत्यारा पत्ता लगाएर प्रहरीले आफ्नो क्षमता देखाइसकेको छ । मेरो घर फोर्ने व्यक्ति पनि पत्ता लाग्ला र मेरो पैसा फिर्ता होला भन्नेमा म आशावादी छु ।

बाटोमा पैसा भेट्टाउनुभएको छ कि छैन ?
भेटिरहन्छु । एक–दुई रुपैयाँ भेटेँ भने टिप्दिनँ । पाँच सय, हजार रुपैयाँ भेटेँ भनेचाहिँ टिप्छु । यसरी भेटेको पैसा पशुपति गएर गरिबहरूलाई दान दिइहाल्छु ।

पछिल्लोपटक कहिले भेट्नुभयो ?
डेढ महिनाअघि मर्निङवाकमा जाँदा पशुपतिमा एक हजार रुपैयाँ भेटेँ । माग्नेहरूलाई बाँड्नु भनेर भगवान् शिवले पैसा झारिदिएजस्तो लाग्यो । बाँडिदिएँ ।

पैसा नभएर कुनै काम अड्किएको छ ?
भगवान्को कृपाले सबै पुगेको छ । फेरि म ठूलो सपना बोक्दिनँ । मेरा सपना साना छन्, जुन पूरा गर्न भएको पैसाले पुगिरहेको छ । सानो कुराले नै मलाई फुरुंग बनाउँछ ।

आफू कतिको खर्चालु छु जस्तो लाग्छ ?
खर्चालु नै छु । ‘यो कति खर्च गर्छे’ भनेर दिदीबहिनीले मलाई गाली गर्छन् । हिजो खर्च गर्नलाई पैसा थिएन । अहिले भएका वेला खर्च गर्न मन सानो किन बनाउने भन्ने लाग्छ ।

महँगीबाट कति पीडित हुनुहुन्छ ?
छु नि । बुबाका पालामा एक रुपैयाँमा कतिबिघ्न सामान आउँन्थ्यो रे भन्ने सुन्छु । अहिले एक लाख रुपैयाँ लिएर सपिङ गर्न गयो भने एकैछिनमा सकिन्छ ।

के किन्दा महँगी बढेको महसुस बढी हुन्छ ?
खाद्य सामग्री किन्दा । चामल, तरकारी आदिको भाउ छोइनसक्नु भएको छ । लुगामा पनि महँगी आकासिएको छ । एक हजारजति पर्ला भनेको लुगा पाँच हजारघटि आउँदैन ।

  • The End 


तपाईलाई यो साईटले मनोरन्जन दियोहोला - तलको फेसवुक पेजमा एक लाईक गर्न नभुल्नुहोला , सधै खुसी दिनेछ । 

0 comments

Write Down Your Responses