केही दिन अघिदेखि ३२ वर्षीया ती चेली साउदी अरेबियाको जेलमा थिइन् । उनले मोवाइलबाट फोन गरी “आमाबुबा मेरो कुनै चिन्ता नलिनु, आफ्नो स्वास्थ्यको ख्याल गर्नु र नातिलाई राम्ररी पढ्न भन्नू, म छिट्टै जेलबाट छुटेर घर आउँछु” भनेकी थिइन् । त्यसको दुई दिन नबित्दै उनलाई मृत्यदण्डको खबर सुनेपछि उनको ५४ वर्षीय आमा बुद्धिसरा र ६४ वर्षीय बुबा भीमबहादुर मूर्छा परेका हुन् ।
भिमाद ३ भावरमा रहेका आमाबुबा र २२ वर्षीय बहिनी रेखालाई सम्झाउन छिमेकी र आफन्तहरु अहिले लागिपरेका छन् । शोभाका ११ वर्षीय छोरा दिवस स्थानीय बालज्योति प्राविमा कक्षा ५ मा अध्ययनरत छन् । विद्यालय पढ्न गएका कारण उनलाई भने आफ्नी आमाको मृत्यदण्डको खबरबारे केही थाहा छैन । जन्मजात ओठ फाटेका दिवसका बाबुले कान्छी श्रीमती ल्याएपछि उनी मामाघरमा नै बस्दै आएका हुन् ।
“सञ्चारमाध्यममा दिदीको मृत्यदण्डको खबर सुनेर साउदीका लागि नेपाली राजदूतसँग बुझ्दा समाचार साँचो भएको खबर पाएपछि घरमा रुवावासी सुरु भएको थियो”, शोभाकी बहिनी रेखाले भनिन् ।
उता शोभाका आमा छोरीलाई सम्झँदै यसरी बिलाप गरिरहेकी छिन्, “हामीलाई सुख दिन विदेश गएकी थिई, आफैं दुःखको भुंग्रो परी विचरी ।”
चार वर्षअघि घरेलु कामदारको रुपमा साउदी पुगेकी शोभाले आफूले यातनाको प्रतिकारका क्रममा घर मालिकका २ वर्षीय छोराको मृत्य भएकाले जेलमा रहेको कुरा ०७० चैत ३१ मा बताएकी थिइन् । मालिकले जेलमुक्त गराउने र स्वदेश फर्काउने बताएको आफूहरुलाई फोनमा भन्ने गरेको शोभाकी बहिनी रेखाले बताइन् ।
शिक्षाशास्त्र संकायमा प्रवीणता प्रमाणपत्र तह भानुमति ९ स्थित हिमालय उच्च माविबाट उत्तीर्ण गरेकी शोभाले आफ्नो श्रीमानले दोस्रो विवाह गरेपछि छोराको भविष्यका निम्ति भन्दै विदेश पलायनको बाटो रोजेकी थिइन् । उनले घरमालिकका दुई वर्षीय छोरालाई घाँटी रेटेर मारेको आरोपमा गत सोमबार अराननगरमा मृत्युदण्ड दिइएको थियो ।
एवानन्यूज नेपाल


0 comments
Write Down Your Responses