जाजरकोटमा स्वाइन फ्लू आशंका,११ को मृत्यु,नौ सय बिरामी -


सुर्खेत : 
जाजरकोटमा दुई सातादेखि फैलिएको अज्ञात रोग स्वाइन फ्लू भएको आशंका गरिएको छ । जाजरकोटका पाँच गाविसमा फैलिएको संक्रमणका कारण हालसम्म ११ जनाको ज्यान गइसकेको छ ।

 यो संक्रमणका कारण नौ सय जनाभन्दा बढी बिरामी भएका छन् । जिल्लाका पैँक, अर्छानी, सक्ला, नायकबाडा र पजारु गाविसहरु बढी प्रभावित भएका छन् ।

 बिरामीहरुमा टाउको दुख्ने, श्वास फेर्न कठिन हुने, हातखुट्टा झम्झमाउने र रुघाखोकीको लक्षण देखिने गरेको छ ।

 जिल्लाका दुर्गम गाविसमा फैलिएको रोगबारे ढिलो सूचना आएकाले रोगको पहिचान हुनै नपाई ११ जनाको मृत्यु भइसेको छ । हालसम्म नौ जनामात्र बिरामीहरु उपचारका लागि आएको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ ।

 रोगले महामारीको रुप लिएपछि स्वाइन फ्लुको आशंका गरिएको छ । सुरुमा सामान्य रुघाखोकीको लक्षण देखिएको र सामान्य उपचार गर्दा समेत नियन्त्रणमा नआएपछि स्वाइन फ्लुको आशंका गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

 जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख धीरजंग शाहले भाइरल संक्रमणको आशंका गरेपनि रोग नियन्त्रणमा नआएपछि स्वाइन फ्लूको आशंका गरिएको बताए ।

‘रोग के हो पत्ता लागेको छैन, स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर अहिलेसम्म नौ सय बिरामीको सामान्य उपचार गरिएको छ’, उनले भने, ‘सम्पर्कमा नआएका अरु पनि बिरामी छन्, तिनको उपचार भइरहेको छ ।’

उनले स्वाइन फ्लूको आशंका गरिएपनि जिल्लामा उपयुक्त प्रविधि नभएकाले रोगको परीक्षण गर्न नमूना काठमाडौं पठाउने तयारी भइरहेको जानकारी दिए ।

 जाजरकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले रोगको पहिचान हुन नसकपछि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको बताए ।

 उनका अनुसार क्षेत्रीय स्वास्थ्य निर्देशनालय सुर्खेत र जिल्ला स्वास्थ्य कार्यालयबाट छुट्टाछुट्टै औषधिसहित स्वास्थ्यकर्मीको टोली प्रभावित क्षेत्रमा खटिएका छन् ।

‘अहिले जिल्लाका पाँच गाविस बढी प्रभावित भएका छन्, बिरामी नभएको कुनै घर नै छैन’, उनले भने, ‘प्रायः सबै घरमा बिरामी छन्, हामीले रोग नियन्त्रणका लागि सक्दो प्रयास गरिरहेका छौं ।’

रोगले महामारीको रुप लिन थालेपछि स्वास्थ्यमन्त्री खगराज अधिकारीसहितको टोली आइतबार जाजरकोट आउन लागेको छ ।

 मन्त्रीको नेतृत्वमा केन्द्रबाट समेत स्वास्थ्यकर्मीको टाली उपचारका लागि जिल्लामा आउन लागेको प्रजिअ बस्नेतले जानकारी दिए । प्रभावितक्षेत्र विकटमा भएकाले पनि उपचारमा कठिनाइ भइरहेको उनको भनाइ छ ।

ज्यान गुमाउने एकै गाविसका आठजना

 अज्ञात रोगका कारण ज्यान गुमाउनेमा पैँकका मात्रै ८ जना छन् । पैँकका वीरबहादुर रोकाय, खम्बबहादुर नेपाली, कल्दरी रोकाय, धनबहादुर रोकाय, जयसरी रोकाय, तिलकबहादुर गिरी, लक्ष्मी रोकाय र जयरुपा उपाध्याय रहेको छन् ।

 सोही रोगका कारण अर्छानीका सुस्मिता जैसी र अर्का एकजनाको ज्यान गएको छ । उनको परिचय खुल्न सकेको छैन । यस्तै टालेगाउँमा कल्दरा शाहीको पनि अज्ञात रोगबाटै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

 पैँकमामात्रै तीन सयजना भन्दा बढी बिरामी भएको जनता उच्च माबि पैँकका प्राचार्य तुल्सीदास चौधरीले जानकारी दिए । स्वास्थ्य कार्यालयले आफ्नो सम्पर्कमा नौ सय बिरामी आएको बताएपनि स्थानीयले भने दुई हजार भन्दा बढी बिरामी रहेको बताएका छन् ।
आजको अन्नपुर्ण पोष्टवाट 

0 comments

Write Down Your Responses