बिधान श्रेष्ठ/टिप्पणी
दोस्रो जनआन्दोलनपछि सन् २००७ को जनवरी देखि फेब्रुवरीमा २१ दिनसम्म चलेको मधेश आन्दोलन नेपाल राज्यको पुर्नसंरचनाको मुद्दामा एउटा महत्वपूर्ण परिघटना थियो । वर्षों देखि उत्पीडनमा परेका मधेशका जनताको मुद्दालाई राष्ट्रिय मुद्दाका रुपमा यस आन्दोलनले स्थापीत गर्न सफल रह्यो । समावेशीता, समानुपातिकता लगायतका मुद्दाहरुलाई पनि मधेश आन्दोलनले स्थापित गर्न ठूलो भूमिका खेल्यो । यो नेपालको इतिहासमा एउटा ठूलो कोशेढुंगा साबित बन्न पुग्यो ।
मधेश आन्दोलनको सफलताले मधेशका जनताहरुमा वर्षौंदेखि भोग्नुपरेको उत्पीडन अन्त्य हुने आशा जगायो । हुनतः मधेश आन्दोलनलाई पनि ‘ग्राण्ड डिजाइन’ भन्नेहरु पनि नभएका होइनन् । तर, वास्तवमा मधेश आन्दोलन मधेशमा भइरहेको उत्पीडनको प्रस्फुटन नै थियो जसमा मधेशमा बस्ने नेपालीहरुले नै सहभागिता जनाएका थिए, रगत बगाएका थिए । त्यसमा शंका गरिराख्नुपर्दैन ।
- मधेश आन्दोलनको सफलतापछि भने अहिलेसम्म आन्दोलनको मर्म अनुसार काम नभएको पक्कै हो । त्यही मधेश आन्दोलन र मधेशी जनताको उत्पीडनको नारा लिएर केही सिमित नेताहरुले सत्ताको रस भोजन गर्न पाए, यद्यपि वास्तविक मधेशी जनताको उत्पीडनको विषयमा नेताहरुले खासै केही गरेनन् । पहिलो संविधानसभाको निर्वाचनमा चौंथो शक्ति बन्न सफल मधेश केन्द्रीत पार्टीका नेताहरु केवल सत्ताको लागि पार्टी फुटाउँदै गए, कोहीले यही अवसरको फाइदा उठाउँदै भ्रष्टाचारमा लिप्त हुँदै गए । विस्तारै मधेशको मुद्दा ‘भ्रष्टिकरण’ र ‘अपारधिकरण’ हुँदै गयो र मधेशका नेता भनाउँदाहरुकै कारण मधेश उत्पीडनको मुद्दा राष्ट्रिय राजनीतिमा कमजोर बन्दै गयो । अन्ततः आफूहरुबीच टुटफुटकै कारणले दोस्रो संविधानसभाको निर्वाचनमा आफ्नै गढ मधेशमा नै मधेशी पार्टीहरु कमजोर भएर निक्ले, सिटको हिसाबमा । अझै पनि मधेशका नेताहरु मधेशको राजनीतिभन्दा पनि सत्ता केन्द्रीत राजनीतिमा नै लिप्त छन् । यसरी बिस्तारै मधेश मुद्दा बिस्तारै ओझेल पर्दै ‘अपराधिकरण’ तिर लम्किरहेको छ ।
मधेशको उत्पीडनलाई अपराधिकरण गर्ने श्रृंखला:--- केही दिन अघि मधेशमा पृथक्तावादी अभियान चलाइरहेका सिके राउतको पक्राउले निकै ठूलो लरंग ल्याएको छ । उनको रिहाईको माग गर्दै केही सभासद् देखि मनावअधिकारवादीहरु समेतले आवाज उठाइरहेका छन् भने अहिले सामाजिक सञ्जालमा सिके राउत, जेपी गुप्ता, श्यामसुन्दर गुप्ता, संजय शाह लगायतको तस्विर देखाएर त्यसलाई मधेशीमाथि भएको उत्पीडनको संज्ञा दिइरहेको पाइन्छ । यसलाई समाजिक सञ्जालमा फैलाउने केही नाम चलेका बुद्धिजिवीहरु पनि छन् । तर, यसरी भ्रष्टाचार, हत्या, अपहरण आदि गम्भिर मुद्दामा पक्राउ परेका अपराधीहरुलाई मधेशमा भइरहेको उत्पीडनको उदाहरण बनाउनु यो भन्दा ठूलो बिडम्बना केही हुनसक्दैन । जेपी गुप्ता नेपाली कांग्रेसका प्रबुद्ध नेता थिए, उनले त्यही पार्टीमा रहँदा गरेको भ्रष्टाचारका कारण जेलमा गएका हुन् नकी मधेशी भएका कारणले । नेपाली कांग्रेसमा हुँदा गुप्ताले गरेको कुकृत्यको जिम्मा किन मधेशका जनताले लिनुपर्ने ? गुप्ताको पापको जिम्मा बोकाउनु मधेशका जनतामाथि अन्याय हुँदैन र ? त्यस्तै, ग्यांगवार अन्तरगत जनकपुरमा बम बिस्फोट गराएर मधेशकै जनता मार्ने संजय शाह, व्यापारी अपहरण गर्ने श्याम सुन्दर गुप्ता र अहिले आएर नेपाल आमालाई ‘रण्डी’ भन्ने सिके राउत, यिनीहरु पक्राउ पर्दा किन मधेशका जनताले जिम्मा लिनुपर्ने ? यसरी अपराधलाई पनि ‘मधेश’ को खोल ओडाउनु कत्तिको जायज छ ? कुख्यात डन दिनेश अधिकारी ‘चरी’को इन्काउन्टर गरिएको छ, सुडान घोटालामा आइजिपीहरुलाई भ्रष्टाचार मुद्दामा कारवाही गरिएको छ । के यि पनि राज्यले ‘पहाडे’माथि गरेको उत्पीडनको उदाहरण हुन् त ? कांग्रेस नेता खुम्बहादुर खड्का पनि भ्रष्टाचारको मुद्दामा जेल बसेकै हुन्, के उनी अपाराधी हुन् कि उत्पीडनको शिकार बनेका हुन् ? यसका विरुद्ध पनि अभियान चलाउने हो कि ‘पहाडिया’ हरुले ? यो टिप्पणी धेरै ‘मधेशी अभियानकर्ता’लाई ‘पहाडी अहंकारवाद’को अंश पनि लाग्न सक्छ । तर, तीतो वास्तविकता भनेको त्यही हो, ‘मधेशका मुद्दा सही हुन् तर नेतृत्व गर्ने गलत’ । आफूले गरेका कुकृत्यहरुलाई मधेशमा भएको उत्पीडनको खोल ओडाउँदा नै अहिलेको यो स्थिति आएको हो । अहिलेको सिके राउत प्रकरण होस् या जेपी गुप्ता यी सबैलाई मधेशी उत्पीडनको खोल ओडाउने प्रयास गरिँदैछ । अपराध गरेर कोही पक्राउ पर्यो भने पनि पहाडियाले मधेशीमा गरेको हेपाहा व्यवहार भनेर केही ‘बुद्धिजिवी’ हरुले प्रचार गरिरहेको देख्दा यो टिप्पणीकारलाई भने निकै अचम्ममा परेको छ । सायद यो टिप्पणीकारणको चेतनाको स्तर नपुगेर हो कि अपराधलाई मधेशी उत्पीडन देख्न नसकेको ?


0 comments
Write Down Your Responses