सुनकोसीमा वगेको आसु , कोही भागाभाग त कोही हार गुहार गर्दै थिए

काठमाडौं,साउन१८–
राति १ बजेतिर हुनुपर्छ,घरमा सुतिरहेका थियौं । एक्कासी जमिनै हल्लिएजस्तो भयो । उठेर बाहिर हेर्दा त घर पहिरोले पुरिसकेको रहेछ । पाँच जना सुतिरहेका थियौं । पत्नी रितु र छोराछोरीलाई उठ भनें । हिलाम्मे थियो । ढुंगा एक्कासी मेरो टाउकोमा बजारियो । एकैछिनमा कोलाहाल सुरु भयो । कोही अयो आयो…… भाग भाग भन्दै थिए । कोही गुहार ! भन्दै थिए । दुःखाइको कुरा केही याद भएन । बत्ति गएको थियो । कसरी ज्यान जोगाउने भन्ने चिन्तामात्रै थियो । राति राति केही नदेखिएपछि कता भाग्ने कता भन्ने पत्तो भएन । भित्तो छाम्दै माथितिर लाग्यौं । छोराछोरीलाई डोहोर्याउँदै हिँडें । गाउँका धेरैजना एकैठाउँमा जम्मा भयौं । के गर्ने के भन्ने भयो । प्रहरीलाई १०० मा फोन गर्यौं । फोन उठे पनि यति राति केही गर्न सकिँदैन,सुरक्षित स्थानमा बस्नुस् भन्ने जवाफ आयो । पटकपटक फोन गर्दा हामी आउँदैछौ भन्ने तर उज्यालो भइसकेपछि मात्रै आइपुगे । त्यतिवेला जे हुनु भइसकेको थियो । सुनकोसी नदि पहिरोले पुरेर थुनिएको थियो । धेरै बस्ती नै डुवको देखियो । घाइतेलाई लान स्टेचर माग्दा सशस्त्र प्रहरीसँग भनाभन समेत भयो । सुरुमा त आफ्नै परिवारतिर ध्यान गयो । दाई गणेश,भाउजु चन्द्र,भतिजि जया,दुई महिनाको भतिजो र दाइकी सासुसमेत पुरिए । भाइकी पत्नी सोममाया र बहिनी पुनम पनि पुरिए । त्यत्रो पहिरोको लेदो र ढुंगा पन्छाएर हामी भाग्यौं । पछि सेनाको हेलिकोप्टर आएर बम खसाल्ने रे भाग भन्न थाले । उद्धार गर्नु त कता हो कता उल्टै भाग भन्न थालेपछि कोलाहाल भयो । पहिरोमा परी बाँचेका पनि रुख समातेर मात्रै जोगिएका हुन् । घरजग्गा सबै पुरियो,त्यो त पछि निखनियला तर दाईको परिवारै गुमाउनु पर्यो,पीडा त्यही छ । यत्रो घटना हुने रहेछ,राज्यले समयमै ध्यान दिएको भए पहिला नै हामीलाई स्थानान्तरण गर्न सक्थ्यो । प्रहरीले पनि सहयोग गरेन । एक सयजना भन्दा बढी पुरिएको हुनुपर्छ । राजधानीबाट त्यति नजिक भएर पनि राज्यले खोजतलास र उद्धारमा ध्यान दिन सकेन । अस्पतालमा जति ल्याइएको छ,ती सबै आफैं बाहिर निस्केकालाई ल्याइएको हो ।आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ । -

0 comments

Write Down Your Responses