काठमाडौँ, साउन ३० – रेडियो नेपालमा क्रियाशील विभिन्न सात कर्मचारी सङ्घसङ्गठनले कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको राजीनामाको माग गर्दै आजदेखि कार्यालय प्रवेशमा रोक लगाएका छन् । रेडियो नेपाल कर्मचारी सङ्घ, कर्मचारी युनियन, रेडियो नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, स्वतन्त्र प्राविधिक सङ्घसहित सात सङ्घसङ्गठनले कार्यकारी निर्देशक कार्कीलाई आजदेखि कार्यालय प्रवेशमा रोक तथा प्रसारणसँग सम्बन्धितबाहेक अन्य सवारी साधन चल्न नदिने उद्देश्यले बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म कार्यालयको ढोकामा धर्ना दिएका हुन् । नेपाल पत्रकार महासङ्घ, रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाँलले कार्यकारी निर्देशक कार्कीको असक्षमताको विरोध गर्दै उनले राजीनामा नदिएसम्म आन्दोलन जारी रहने जानकारी दिनुभयो । आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै नेपाल पत्रकार महासङ्घ प्रतिष्ठान संयोजक सुरज आचार्य, प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनका प्रतिनिधि धर्नास्थल पुग्नुभएको थियो । निर्देशक कार्कीले भने राजीनामाको बारेमा आफूलाई कुनै जानकारी नभएको र आज आफू बिदा बसेको हुँदा धर्नाको बारेमा समेत केही जानकारी नभएको जानकारी दिए ।
रेडियो नेपालका कार्यकारी निर्देशकलाई कार्यालय प्रवेशमा रोक
0 comments
Write Down Your Responses