भदौ ८ दिनभरको तराई कस्तो रह्यो - हेर्नुहोस्


बाँकेको कोहलपुरमा ८ भदौमा थरुहट संघर्ष समितिले निकालेको जुलुश ।

७ भदौमा कैलालीको टीकापुरमा सात सुरक्षाकर्मीसहित ८ जनाको ज्यान लिने गरी हिंसा भड्किएको तराई ८ भदौमा  तुलनात्मकरुपमा शान्तिपूर्ण नै रहे पनि रौतहट, सप्तरी, सिरहा, महत्तोरी, धनुषा, पर्सा, बाँके, बर्दिया र कैलाली तनावग्रस्त रहे ।

रौतहटमा दंगाग्रस्त क्षेत्र तोड्न खोज्ने एक जना आन्दोलनकारीको प्रहरीको गोली लागेर मृत्यु भयो ।

तस्वीर: केशव राना
रौतहटका प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार मछिया गाविसका राजकिशोर ठाकुरको प्रहरीको गोली लागि मृत्यु भएको हो ।

स्थानीय प्रशासनले गौर नगरपालिकाभित्र ७ भदौ दिउँसो साढे ४ बजेदेखि कर्फ्यू र राति १० बजेपछि अर्को आदेश नभएसम्मका लागि भन्दै गौर नपा क्षेत्र र चन्द्रनिगाहपुरदेखि गौरसम्मको करीब ४२ किमी लामो राजमार्गको दायाँबायाँ १ किमी क्षेत्रलाई दंगाग्रस्त क्षेत्र घोषणा गरेको थियो ।

“आन्दोलनकारीले कर्फ्यू उल्लंघन गर्ने, एम्बुलेन्ससमेत जलाउने, प्रहरी चौकीमा आक्रमण गर्ने गरे”, प्रजिअ भुजेलले भने,“अश्रु ग्यास, हवाई फायर र रबरको गोली प्रहार गर्दा पनि नियन्त्रणमा नआएपछि बाध्य भएर गोली चलाउनुपर्‍यो ।”

पूर्वी तराईकै अर्को जिल्ला महोत्तरी पनि तनावग्रस्त रह्यो । आन्दोलनकारीले ‘जनताको तटबन्ध’ कार्यक्रमको जिल्लास्थित फिल्ड कार्यालय तोडफोड गरे भने केही निजी भवनमा समेत क्षति पुर्‍याए । यद्यपी अहिले शान्ति सुरक्षाको पर्याप्त व्यवस्था गरिएको त्यहाँका प्रजिअ दीपक काफ्ले बताउँछन् ।

उता सप्तरीको भारदहमा केही दिनअघि प्रहरीको गोलीबाट मारिएका राजीव राउतको दाहसंस्कार गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार आन्दोलनकारीले शवलाई सिराहको लहान बजार परिक्रमा गराएर भारदहमै पुर्‍याइ दाहसंस्कार गरेका थिए ।

सिरहामा तमलोपाका अध्यक्ष महन्थ ठाकुर र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गरे । बजार पूरै बन्द भए पनि आन्दोलन संयमित र शान्तिपूर्ण भएको त्यहाँका प्रजिअ डा. मानबहादुर बिकेले जानकारी दिए ।

धनुषामा प्रदर्शनकारीले मोटरसाइकल जुलुस र मौन जुलुस निकाले । कोण सभा गरे । अन्य कुनै अप्रिय घटना भएन ।

पर्सामा दिनभर विरोध प्रदर्शन भयो । प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेका अनुसार आन्दोलनकारीले आन्दोलन शान्तिपूर्ण बनाउने पूर्व सहमति विपरित सदरमुकाम विरगञ्जको आदर्शनगरदेखि थकालीचोकसम्मका केही बैंक र निजी होटलहरूमा ढुङ्गामुढा गर्दै तोडफोड गरे ।

तोडफोडमा संलग्नको पहिचान भइसकेको, प्रहरीले खोजी गरिरहेको र उनीहरूलाई पक्राउ गरी कारवाही गरिने प्रजिअ घिमिरे बताउँछन् ।

“आन्दोलन भनिएजस्तो शान्तिपूर्ण भएन, बालबालिका पनि प्रयोग भएको पाइयो, संलग्नलाई कारवाही गर्छौं”, उनी भन्छन् ।

बारा दिनभर शान्तिपूर्ण रहे पनि विभिन्न ठाउँबाट अएका सूचनाअनुसार आन्दोलन हिंसात्मक बन्नसक्ने भन्दै ९ भदौदेखि भने कफ्र्यू लगाउने प्रशासनको तयारी छ ।

नवलपरासी सदरमुकाम परासी बजारमा ७ भदौदेखि निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासनका अनुसार १३ भदौसम्मका लागि दाउन्ने पश्चिम महेन्द्र राजमार्गको दायाँबायाँ एक/एक किमीसम्म निषेधाज्ञा कायम रहने छ ।

रुपन्देहीको भैरहवमा चार दिन अघिदेखि निषेधाज्ञा जारी छ । ९ भदौसम्मका लागि लगाइएको निषेधाज्ञा शान्तिसुरक्षाको अवस्था हेरेर थप गर्ने वा नगर्ने निर्णय भोलीमात्रै हुनेछ ।

३ भदौमा भएको झडपमा घाइते भएका कम्हरिया–३ निबिहवाका दुर्गेस यादव (२४) को उपचारका क्रमममा ८ भदौमा काठमाडौंमा ज्यान गएको छ ।

कपिलवस्तुमा सभासद अभिषेकप्रताप शाहको नेतृत्वमा सीमावर्ती सहर कृष्णनगर र त्यसआसपासका सरकारी कार्यालयका बोर्डहरूमा मधेश प्रदेश लेखिएको छ ।

सदरमुकाम तौलिहवा बजार आसपास निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रशासन र दलहरूबीच आन्दोलनलाई शान्तिपूर्ण बनाउने सहमति भएको छ ।

दाङका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलका अनुसार घोराही, तुलसीपुर र लमही आसपासमा दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

७ भदौ राति ८ बजेदेखि २२ भदौसम्मका लागि जिल्लामा पर्ने राष्ट्रिय राजमार्गको दायाँबायाँ एक÷एक किमी पर्ने क्षेत्रमा पनि दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

सभासदहरू गंगा चौधरी र योगेन्द्र चौधरीको नेतृत्वमा गाउँगाउँमा आन्दोलनकारी जम्मा भएको सूचना पाएपछि उच्च सतर्कता अपनाइएको प्रजिअ पौडेलले बताए ।

बाँकेमा ९ भदौ बिहानसम्मका लागि सदरमुकाम नेपालगञ्ज र कोहलपुर बजार आसपासमा स्थानीय प्रशासनले कर्फ्यू लगाएको छ ।

बर्दियाको गुलरिया र राजापुर आसपासमा निषेधित क्षेत्र घोषणा गरिएको छ ।

कैलाली ८ भदौमा पनि दिनभर तनावग्रस्त बन्यो । सदरमुकाम धनगढी र टीकापुर क्षेत्रमा कफ्र्यू लगाइएको छ भने टीकापुर र राजमार्ग आसपासमा दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।

कर्फ्यूकै बीचमा पनि सभासद जनक चौधरीको घर र थरुहट आन्दोलन समिति संयोजक रेशम चौधरीको फूलवारी रिसोर्ट र फूलबारी एफएममा आगजनी भएकोे छ ।
 हिमाल खवर.कमवाट

0 comments

Write Down Your Responses