१७ वर्षपछी हराएको छोरालाई चिन्न आमाले पासवर्ड प्रयोग गरिन् ..होर्नुहोस् कसरी .?

एजेन्सी, विविसी
तपाई-हामीले कम्प्यूटर, मोबाइलमा सेक्युरिटीका लागि ‘पासवर्ड’ राख्छौं तर के एउटी आमाले आफ्नो सन्तान चिन्नका लागि पनि ‘पासवर्ड’ राखेकी हुन्छन् ? प्रश्न अनौठो लाग्न सक्छ तर भारतको हरियाणा राज्यको मेवात जिल्लामा एक महिलाले आफ्नो छोराको पहिचान ‘पासवर्ड’ मार्फत गरेकी छन् । १७ वर्षअघि घर छाडेर हिँडेको छोरासँग टेलिफोनमा कुरा गरिरहँदा उनले आफ्नै छोरा हो कि होइन भन्ने पहिचान गर्न ‘पासवर्ड’ प्रयोग गरेकी हुन् ।

ती महिलाले आफूसँग फोनमा कुरा गरिरहेको युवक आफ्नो छोरा हो कि होइन भन्ने पहिचान गर्न सोधिन्, ‘तिमी सानो हुँदा आमाले एकदिन तिमीलाई खुब पिटेकी थिइन्, के तिमीलाई थाहा छ– आमाले तिमीलाई किन पिटेकी थिइन् ?’

फोनमा युवकले जवाफ दियो, ‘सडक किनारमा केही मानिस तास खेलिरहेको हेरेर म बसिरहेको थिएँ, अनि मलाई आमाले सडक छेउमै रहेको एउटा डोरीले बेस्सरी पिट्नुभयो ।’ जवाफ सुन्नासाथ ती महिलाको आँखाबाट आँशु खस्यो । अनि आफूसँग कुरा गरिरहेको युवकलाई भनिन्, ‘हो, तिमी नै मेरो छोरा हौं, तिमी कहाँ छौं ? के गर्दैछौं ?’

आफ्नो छोरा उही नै हो भन्ने प्रष्ट भइसकेपछि ती महिलाले उसलाई चाँडै घर आउन बारम्बार भनिरहिन् ।
१७ वर्षअघि घर–परिवार छाडेर हिँडेको उनका छोरा जाहिद पाशा हाल कर्नाटकको टुमकुरुमा बस्दै आएका छन् । उनी शुक्रबार आफ्नो आमा–बुवा, भाई–बहिनीसँग भेट गर्न घर पुग्दैछन् ।

‘सेल्फी विथ डटर’ अभियानका कारण प्रख्यात भएका हरियाणाका जिन्द जिल्लाका बीबीपुर गाउँका प्रधानपञ्च सुनील जगनालसँग एकाएक जाहिदको सम्पर्क भयो । जाहिदलाई आफ्नो जिल्लाको नाउँ थाहा भएपनि गाउँको नाम राम्ररी याद थिएन तर सुनीलले जिल्लाका सबै गाउँका प्रधानपञ्च र स्थानीय प्रहरीसँग जाहिदको घर–परिवार पत्ता लगाउन मद्दत मागे ।

१७ वर्षअघि हराएको बालकको बारेमा जिल्लामा व्यापक सोधखोज भयो । आखिर उतिबेला जाहिदकी आमाले आफ्नो छोरा हराएको निवेदनका आधारमा प्रहरीले जाहिदको घर ठम्याउन सफलता पायो । प्रहरीले जाहिदको परिवारसँग विस्तृत विवरण माग्दै जाहिदसँग पनि सम्पर्क गरिरह्यो । अन्ततः जाहिदको परिवार यही नै हो भन्ने निश्चित भएपछि प्रहरीले जाहिदसँग आमाको टेलिफोन वार्ता गराएको हो ।

उत्तर प्रदेशको सहारनपुरस्थित एक मदरसामा पढ्दै गर्दा एउटा साथीले जाहिदलाई त्यहाँबाट भाग्ने प्रस्ताव राख्यो । साथीको लहैलहैमा उनी भागे । दुबैजना बेंग्लोरबाट ७० किलोमिटर टाढा टुमकुरु रेलवे स्टेशनमा पुगे । तर जाहिदलाई त्यहीँ छाडेर साथी बेपत्ता भयो ।

नयाँ ठाउँ, सीमित पैसा भएकाले जाहिद संकटमा परे । उनी यताउता आश्रयका लागि भौंतारिन थाले । न बस्ने ठेगान, न खाने ठेगान । फारुख पाशा नाम गरेका स्थानीयले उनलाई फेला पारे । सामान्य सोधपुछपछि फारुखले जाहिदलाई आफ्नो घरमा लगे ।
फारुखकै घरमा जाहिदको बाँकी बाल्यकाल बित्यो, फारुखकै परिवारको सदस्यका रुपमा उनी वयस्क पनि भए । फारुखले नै जाहिदको विवाहसमेत गराइदिए । अहिले जाहिदको आफ्नै परिवार छ । श्रीमती, दुई सन्तानका साथ जाहिद फारुखकै घरमा एकै परिवारसरह बसिरहेका छन् ।

फारुखलाई सानैदेखि जाहिदले काका भन्थे भने फारुखकी श्रीमतीलाई काकी । तर १७ वर्षपछि जाहिदको जीवन यो मोडमा आइपुग्छ भन्ने कुरा त्यतिबेला न जाहिदलाई विश्वास थियो, न त फारुखलाई नै ।

जाहिद आफ्नो सहोदर परिवारलाई भेट्न हरियाणा जान लागेपछि फारुखको परिवारमा खुशी र दुःख दुबै एकसाथ देखिएको छ । खुशी यस अर्थमा कि, आफूले सानैदेखि आफ्नै सन्तानसरह हुर्काएको जाहिदले आफ्नो सहोदर आमा–बुवालाई फेला पारेको छ । अनि दुःख यस अर्थमा कि, जाहिद कतै आफ्नै घर–परिवारसँग हरियाणामै बस्ने त होइन ? फारुख १७ वर्षदेखि जाहिदसँग आफूले गाँसेको सम्बन्ध नटुटोस् भन्ने चाहन्छन् ।

त्यसो त, जाहिद पनि फारुखको परिवारबाट आफू अलग हुन नसक्ने बताउँछन् । ‘मेरो आमाबुवाले मलाई जन्म दिनुभयो तर फारुख काका र काकीले मलाई एक इमानदार जीवन बिताउन लायक तुल्याउनु भयो । म आमाबुवालाई भेटेर फेरि फर्किन्छु, काका–काकीसँगै बस्छु,’ उनले भने ।

फारुखको परिवारसँग यति घनिष्ठ हुनुको कारण खुलाउँदै उनले भने, ‘म घर नफर्किउन्जेलसम्म काकीले एक्लै कहिल्यै खाना खानुभएन । म आएपछि मात्र उहाँ खाना खानुहुन्थ्यो ।’

उनी भन्छन्, ‘त्यसो भन्दैमा म आफ्नो आमा–बुवाको उपेक्षा गर्न पनि सक्दिनँ, उहाँहरुको सोधखोजमा मैले धेरै वर्ष बिताइसकेको छु, बल्ल–तल्ल भेट हुँदैछ ।’ उनी आफ्नो आमा–बुवालाई पनि आफू बसेकै ठाउँमा ल्याउने योजनामा छन् । ‘मेरो आमा–बुवाको स्वागतका लागि काका–काकी पनि उत्सुक हुनुहुन्छ, म उहाँहरुलाई लिएर यहीँ फर्किनेछु,’ उनले भने । (बीबीसी)

0 comments

Write Down Your Responses