गुडिरहेको रेलमा यात्रुले आत्मदाह गरेपछी हंगामा - दुईको मृत्यु

टोकियो ।

 जापानको सबैभन्दा छिटो कुद्ने रेल बुलेट ट्रेनमा यात्रा गरिरहेकै बेला मङ्गलबार यात्रुले आत्मदाह गरेको समाचार छ । गुडिरहेको सो रेलमा एकजना यात्रुले आत्मदाह गरेको र त्यसका कारण लागेको आगोबाट उनी र अर्का एकजनाको ज्यान गएको बताइएको छ ।

सिङ्कानसेन नामको सो रेलमा लागेको आगोका कारण थप दुईजना पनि नराम्ररी घाइते हुन पुगेका छन् । एकजना यात्रुले आफैले शरीरमा तेल छर्किएर आफ्नो शरीरमा आगो झोसेको थियो ।

जापानी रेल, जे आरको केन्द्रीय कार्यालयका प्रवक्ताले भने– एकजना यात्रुले आगो झोसेको थाहा भएको छ र जसका कारण उ र उसको नजिकको अर्काे एक यात्रु पनि जलेर गम्भीर अवस्थामा छट्पटाउन थालेका थिए । सो घटनापछि उनीहरुलाई रेलका प्रहरीले पक्राउ गरेका र पछि अस्पतालमा उनीहरुको निधन भएको बताइएको छ ।

जापानी टेलिभिजन एनएचकेले उनीहरुको निधन भएको जनाएको छ । युमियोरी सिम्बुन नामको एक दैनिक पत्रिकाले दिएको जानकारीअनुसार सो आगलागीपछि त्यहाँ रेलभित्रै निकै ठूलो मात्रामा धुवाँको मुस्लो पनि देखिएको थियो ।

सो घटनापछि रेलको चर्पीमा ठूलो आवाज आएको थियो । आवाजपछि रेल आकस्मिक रुपमा रोकिएको थियो । जसका कारण रेलभित्र ठूलो त्रास फैलिएको थियो । उक्त रेल जापानको राजधानी टोकियोबाट ओसाकातर्फ यात्रा गरिरहेको थियो । रेलमा कम्तीमा पनि एक हजार जना यात्रु रहेका थिए । रासस÷एएफपी

0 comments

Write Down Your Responses