संचारमन्त्री रिजाल मदिरामा लठ्ठिएर यसरी शर्मामाथि खनिएपछी हंगामा ---

काठमाडौं । ‘तिमी यो दुनियाँको सबभन्दा बेबकुफ ! तिम्रो त मुख पनि हेर्न मन थिएन । तर, दुर्भाग्य आजै मुख हेर्नुपयो !’ हुँदाहुँदा ती अधवैँशेलाई मुखै छाडे, ‘तिमी के को आशमा त्यो ‘जाँ…’ को तलुवा चाट्न पुग्यौ ?’ मध्यरात मदिराले झुम भएपछि सञ्चारमन्त्री मीनेन्द्र रिजालले यस्तो तमासा देखाएका हुन्, धुलिखेलमा । सबको सामु उनको गाली खाँदैथिए, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.पीताम्बर शर्मा । धुलिखेल रिसोर्टमा केही साताअघि स्थानीय विकास मन्त्रालयले एउटा कार्यक्रमको आयोजना गरेको थियो,

‘संघीयतापछिको स्थानीय संरचना’ सम्बन्धी । विभागीय मन्त्री प्रकाशमान सिंह अनुपस्थित भएपछि सञ्चारमन्त्री प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । उनीसँगै अतिथिका रुपमा एमाले मुख्य सचेतक अग्नी खरेल थिए । संघीयतापछि स्थानीय निकायको संरचना बिषयमा मन्त्रालयका सचिव डा.सोमलाल सुवेदी र नेत्र भुर्तेलले कार्यपत्र पेश गरे । त्यही कार्यपत्रमा टिप्पणी गर्न अमेरिकाका लागि नेपाली पूर्वराजदूत डा. शंकर शर्मासँगै डा. पीताम्बर शर्मा पनि निम्त्याइएका थिए । बिचरा, पीताम्बरले राज्यको निम्तोमात्र खाएनन्, जिम्मेवार मन्त्रीको मुखबाट ‘मा…मु…जाँ’ जस्ता यहाँ लेख्न नमिल्ने शब्दका गाली पनि खान भ्याए । स्थानीय निकायको आगामी स्वरुप पहिचानयुक्त हुनुपर्ने धारणा पीताम्बरले राखेका थिए । अर्थात्, मधेशी, जनजातिसहित एमाओवादीहरुले उठाएकै एजेण्डालाई टेकेर बोले । उनको कुरा सुनेर मञ्चमै मीनेन्द्रले मुख बिगार्न थालिसकेका थिए । पहिचानलाई पूर्णतः अस्वीकार गरेर जान नसकिने, तर पहिचानका नाममा अतिरञ्जित तवरबाट प्रस्तुत हुनु पनि ठीक नभएको राय कांग्रेस–एमालेसम्बद्ध टिप्पणीकर्ताले प्रस्तुत गरे । मीनेन्द्रले प्रमुख अतिथिको आसनबाट झण्डै एक घण्टा १० मिनेट बोले । भाषणमा त नाम लिएनन्, तर गालीचाहिँ पीताम्बरलाई नै गरे । भने, ‘यस्ता आडम्बरीको के कुरा गर्नु ?’ पहिलो दिनको कार्यक्रमपछि सहभागीहरु बारतिर लम्किए । मीनेन्द्र बार छिर्न आनाकानी गर्दै थिए, ‘जान हतार भयो’ भन्दै । पछि ‘चियामात्र पिउँछु’ भन्दै बारतिर लागेका उनले अलिक कडै ‘चिया’ पिए । आँखा रातोरातो हुन थालेपछि पीताम्बरतिर हेरे । पीताम्बरचाहिँ मीनेन्द्रलाई उति मतलब नगरी बसेका थिए । केही बेरमै मीनेन्द्र पीताम्बर नजिकै पुगे । शिष्टाचारका कुनै कुरा बोलेनन्, एकैचोटि गाली गर्न थाले । मीनेन्द्र मुख छाडेर बोलिरहे, पीताम्बरले सुनिरहे । वरिपरिका मानिसहरु छक्क परेर दृष्य हेर्दै थिए । तर, पीताम्बरले केही जवाफ फर्काएनन् । ‘तिमी पहिले एमालेमा थियौ, त्यही ठस्क थियो । तर, बाबुरामको तलुवा चाटेर राष्ट्रिय योजना आयोगको उपाध्यक्ष हत्याउन पुग्यौ, छिःछिःछि…!’ मीनेन्द्रले भने, ‘संविधान बन्न लागेको छ । तिमीचाहिँ पहिचानको नाममा भाँड्न खोज्ने ? आडम्बरी हौ तिमी, आडम्बरी ’ मीनेन्द्र पड्किँदापड्किँदै अग्नी खरेल नजिक पुगे । बाँकी त खरेलले पनि राखेनन्, तर मिलाएर । भने, ‘तपाईंलाई कुन पद खान मन लागेको छ ? भन्नुस्, म पार्टीभित्र कुरा राख्छु । तर, एमालेमा फर्किनुस् !’ दुबैको एकोहोरो टोकाइबाट दिक्क मानिसकेका पीताम्बरले ‘अब सुत्न जान्छु’ भन्न थाले । यतिबेला रातको १२ बजेको थियो । तर, मीनेन्द्रको खानपिन सकिएको थिएन । मीनेन्द्रले पीताम्बरलाई गाली गर्दा पत्रकार राजन कुइँकेल पनि सँगै थिए । गालीप्रति जवाफै नदिई पीताम्बर सुत्न गएपछि मन्त्रीको प्रसंग फेरियो । यसपछि गाली खाने पालो आयो, पत्रकारको । ‘कहिले डान्सबार, कहिले दोहोरी, कहिले मोडेल र नायिकासँग मेरा नाम जोडेर लेख्ने ? सालेहरु !’ मुस्किलले तीनजना पत्रकार थिए त्यहाँ । भएभरका पत्रकार त्यहीँ भएजस्तो मान्दै मीनेन्द्र एकोहोरो कराए, ‘जति लेखे पनि केही फरक पर्दैन । स्वास्नीलाई मैले जत्तिको माया कसैले गर्दैन ।’ यति भनिसक्दा उनको मोबाइलमा घण्टी बज्यो । ‘यी फोन आइहाल्यो’ भन्दै फोन उठाएर बोल्न थालेका उनी फोन काट्दै त्यहाँबाट हिँडे, जनआस्था साप्ताहिकमा समाचार छ ।

0 comments

Write Down Your Responses