प्रचण्डले भने, 'साँचो पाए दुई घन्टामै संविधान बनाइदिन्छु' - कहाँ छ त साँचो ?


काठमाडौं : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले संविधान निर्माणको साँचो आफ्नो हातमा आए दुई घन्टामै संविधान बनाएर चमात्कार गर्ने दाबी गरेका छन्।


आफ्नै निवास लाजिम्पाटमा प्रचण्डले शुक्रबार संचारकर्मीसँग भने, 'संविधान निर्माणको साँचो मलाई दिए, दुईघन्टामै सबै विषय मिलाएर म संविधान बनाइदिन्छु।' उनले संविधान निर्माण कांग्रेस एमालेकै कारण अड्किएको बताउँदै भने, 'संविधान निर्माणको त्यो साँचो कांग्रेस एमालेले मलाई दिन चाहेका छैनन्।'

उनले पछिल्ला दिनमा कांग्रेस एमालेसँग केही सकारात्मक कुरा भएको बताउँदै भने, 'सहमति गरेर अघि बढ्ने कुरा भएको छ। तर विषयगत रुपमा कुनै पनि सहमति भएको छैन।' के संघीयता थाती राखेर अघि बढ्ने समझदारी भएको हो भन्ने जिज्ञासामा प्रचण्डले भने, 'त्यस्तो सहमति भइसकेको होइन। कुरा विभिन्न आएका छन्। तर संघीयतालाई छोडेर अघि बढ्न गाह्रो छ।'


उनले एमाओवादीको अहिलेको प्राथमिकता सत्ता भन्दा संविधान रहेको स्पष्ट पार्दै भने, 'हामीलाई  सत्ता जाने कुनै इच्छा छैन । हाम्रो ध्यान अहिले संविधानमै केन्द्रित छ।' उनले कांग्रेस एमाले संविधानमा भन्दा सत्तामा बढी जोड दिएको बताए।

 उनले तीस दलीय मोर्चाका केही असमझदारी देखिए पनि विभाजनको अवस्था नरहेको बताउँदै भने, 'केही विवाद छन्, तीनलाई समाधान गरेर अघि बढ्नुपर्छ। तीस दलीय मोर्चा एक ढिक्का भएर अघि बढ्छ।'
अन्नपुर्ण पोष्टवाट साभार


-

0 comments

Write Down Your Responses