श्रीलंकाका राष्ट्रपति महिन्दा नेपाल भ्रमणमा आउऩ आतुर
काठमाडौं, साउन २७ –
श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मंसिरमा हुने १८ औ शिखर सम्मेलनमा नेपाल आउन आफू आतुर रहेको बताएका छन । उनले काठमाडौंमा हुन लागेको सार्क शिखर सम्मेलनमा अन्तरदेशिय ‘कनेक्सन’ र युवाहरुको वृत्ति विकासमा सदस्य राष्ट्रहरुले जोड दिनपर्नेसमेत बताएका छन् । सार्क महासचिव अर्जुनबहादुर थापालाई सोमबार राष्ट्रपति भवनमा भेट दिँदै राजापक्षले उक्त धारणा ब्यक्त गरेका हुन् ।
परिचयात्मक भ्रमणको क्रममा सार्कका महासचिव थापा आइतबार श्रीलंका पुगेका थिए । महासचिव नियुक्त भएपछि सबै सदस्य राष्ट्रमा परिचयात्मक भ्रमण गर्ने प्रचलन छ । भेटमा राजापक्षले सार्कमा ‘कनेक्टिभिटी’ आवश्यक रहेको बताउदै यसक्षेत्रका धार्मिक र सांस्कृतिक केन्द्र सडक वा हवाई मार्गबाट जोडिनु अत्यावश्यक रहेको बताएको कान्तिपुर दैनिकमा खबर छ ।
यस क्षेत्रका युवाहरुको बृत्ति विकास र उनीहरु बीचको अन्तरक्रियामा समेत उनले जोड दिएको विज्ञप्तीमा उल्लेख छ । युवाहरुको समस्यालाई ख्याल गर्नुको साथै उनीहरु बीचको अन्तरक्रिया र सम्पर्क महत्वपूर्ण रहेको राजापाक्षेले बताएका छन । भेटमा सार्कको विकास र आर्थिका क्षेत्रमा सार्कले गर्नसक्ने कामलगायतका विषयमा छलफल भएको थियो । महासचिव थापाले भारत, बंगलादेश, भुटान र पाकिस्तानको परिचयात्मक भ्रमण सकिसकेका छन् । उनी श्रीलंका पछि अर्को साता माल्दिभ्स जाने र त्यसपछि समय मिलाएर अफगानिस्तान जाने तयारीमा छन् ।
0 comments
Write Down Your Responses