भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको दोस्रो तथा अन्तिम दिन सोमबार राष्ट्रपति रामवरण यादवलगायत प्रमुख दलका शीर्ष नेताहरुलाई भेट्ने अधिकारीहरुले बताएका छन्।
छोटो समय भएपनि धेरै भेटघाटको योजना रहेको यो भ्रमणमा आइतबार उनले व्यवस्थापिका संसदमा सम्बोधन गर्दै नेपालले छिटो संविधान जारी गरेर विश्वसामू उदाहरण प्रस्तुत गर्नुपर्ने बताएका थिए।
निर्धारित समय भन्दा २५ मिनेट बढी भाषण गरेका मोदीले संविधान निर्माणबारे चर्चा गर्नुका साथै सार्वभौम राष्ट्र भएकोले नेपालको प्रत्येक निर्णयलाई आफूहरुले समर्थन गर्दै सहयोग गर्ने वचन पनि दिए।
पहिलो संविधानसभा विघटन भएर दोस्रोपटक संविधान लेखनमा जुटेका विभिन्न दलका सांसदहरुले उनको सम्बोधनका क्रममा पटकपटक ताली पिट्दै स्वागत गरेका थिए।
स्वागतयोग्य
"यो संविधान नेपालको सुदूर भविष्य सम्मको लागि नेपालीहरुको आधार बनोस् भन्ने उहाँको चाहना स्वागतयोग्य छ"
रामचन्द्र पौडेल, उपसभापति, नेपाली कांग्रेस
संविधानसभाको पहिलो ठूलो दल नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले भने, "यो संविधान नेपालको सुदूर भविष्यसम्मको लागि नेपालीहरुको आधार बनोस् भन्ने उहाँको चाहना स्वागतयोग्य छ।"
मोदीले सम्बोधनमा नेपाली नेताहरुले संविधान बनाएर शस्त्रलाई शास्त्रमा परिणत गरेको सन्देश विश्वमा दिनुपर्ने बताएका थिए।
विगतमा सशस्त्र संघर्ष चलाएको एकीकृत माओवादीका नेता गिरिराजमणि पोखरेलले भने, "केही सैद्धान्तिक मतभेद त छन्, तर यहाँ बन्न लागेको संविधानको अन्तर्राष्ट्रिय महत्व छ भन्ने कुरा सकारात्मक लागेको छ।"
"मलाई खट्किएको एउटै कुरा हामी संविधान निर्माणको प्रकृयामा रहेका बेला संघीयतामा जाने वा गणतन्त्रमा नजाने भन्ने विषयमा परिपक्व छलफल नै नभएका बेला त्यस विषयमा नबोल्दिनु भएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो"
कमल थापा, अध्यक्ष, राप्रपा नेपाल
त्यस्तै भारत नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनोस् भन्ने पक्षमा रहेको विषयलाई स्पष्ट पार्नुले नेपालको राजनीतिक परिवर्तनबारे नयाँ भारतीय सरकारप्रतिका विभिन्न अड्कलबाजीलाई प्रष्ट्याएको सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मण लाल कर्णले बताए।
उनले भने, "संविधान निर्माणबाट तराई, हिमाल र पहाड सबैको समस्या समाधान हुनुपर्छ भन्नुभयो यो उहाँको उत्कृष्ट सम्बोधन थियो।"
धारणा
तर हिन्दु राष्ट्रको वकालत गर्दै आएको राप्रपा नेपालले भने संविधानका कतिपय विषयमा छलफल भइरहेको बेला भारतीय प्रधानमन्त्रीले नेपालको व्यवस्थाबारे नबोलेको भए जाति हुने धारणा राखेको छ।
अध्यक्ष कमल थापाले भने, "मलाई खट्किएको एउटै कुरा हामी संविधान निर्माणको प्रकृयामा रहेका बेला संघीयतामा जाने वा गणतन्त्रमा नजाने भन्ने विषयमा परिपक्व छलफल नै नभएका बेला त्यस विषयमा नबोल्दिनु भएको भए अझै सुनमा सुगन्ध हुन्थ्यो।"
सोमबार स्वदेश फर्कनुअघि मोदीले पशुपतिनाथको दर्शन गर्ने तथा राष्ट्रपति र विभिन्न दलका शीर्ष नेता र उद्योगी व्यवसायीलाई भेट्ने अधिकारीहरुले बताएका छन्।
विविसी नेपाली सेवावाट


0 comments
Write Down Your Responses